हजुर बा
हिसाब गर्दै नबाँच बाबु, आहा ! क्या हल दिनुभयो।
आफू बसी मरु-भूमिमा, वर्षा बादल दिनुभयो।।
जिन्दगीभर गाओस् नाचोस्, बाँचोस् मेरो नाति भन्दै
हजुर बाले अंश लाउँदा, मलाई मादल दिनुभयो।।
आमा
मुटुभित्र छिर्नु तिमी, रगत जस्तै चल्ने गर्नु ।
रातको कालो चिर्नु तिमी, जुनकिरीझैं बल्ने गर्नु।।
दोबाटोझैं दोधारे मन, भयो भने याद राखेँ
आमाको गुन तिर्नु तिमी, बरु दैव छल्ने गर्नु।।
चन्दन
कसलाई कति चाहिन्छ ?, मञ्चबाट भन्छ।
खल्तीमा छ छिट्टै पाइन्छ, मञ्चबाट भन्छ।।
राजनीति फोहर हाम्रो , देश गनाएमा
नाकैमुनि चन्दन लाइन्छ, मञ्चबाट भन्छ।।
कोइली
खुशीमा हो या पीडामा उस्को, आएको मीठो सुर।
कोइली आज रोएको हो या, गाएको मीठो सुर।।
विरह मात्र जगाउने भए, वनमा बसेर
मलाई अब जान्नु छ किन ? पाएको मीठो सुर।।
युद्ध
युद्ध गर्ने नेता भने , बाटो भड्किदै छन्।
युद्ध गर्दा छाडेका बम, अझै पड्किदै छन्।।
सपनामा समृद्ध देश, देख्ने मुटुहरु।
सीमावारि करोड पारि, लाखौँ धड्किदै छन्।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

