गाई बाँधिएको दाम्लो पनि प्लास्टिकको
डोकोमा बेरिएको नाम्लो पनि प्लास्टिकको
धेरैपछि गाउँ जाँदा गजबको परिवर्तन देखेँ मैले
मलाई बिछ्याइएको काम्लो पनि प्लास्टिकको।
– १ –

धेरै दूध दुहुन गाईलाई भिटामिन खुवाउछन् रे
भोकमरीमा रक्सीका लागि अन्न कुहाउँछन् रे
ओहो! गाउँमा परिवर्तनले छलाङ मारिसकेछ
कसैकसैले दूधमा रक्सी मिसाएर नुहाउँछन् रे।
– २ –

गोठ रित्तिएछ गाउँमा चौपाया पाल्न छाडिएपछि
औजार भित्रिए आरनमा फलाम गाल्न छाडिएपछि
बालबालिकाहरु अटेरी र रिसाहा हुँदै गए
पेटमा दूध, दही र घ्यू हाल्न छाडिएपछि।
– ३ –

बुढानीलकण्ठ, काठमाडौँ