कान्ला कान्ला सिर्जनाको रेखा कोर्दै जाऔँ
गह्राभरी जाँगर पोखी डल्ला फोर्दै जाऔँ ।
स्वाभिमान थिचिन्छ कि थिच्न दिनुहुन्न
साँध किल्ला मिचिन्छ कि मिच्न दिनुहुन्न
सगरमाथा जस्तै उच्च शिर हुनुपर्छ
यो देशलाई जोगाउने वीर हुनुपर्छ ।
आकाश छुन धौलागिरी अझ अग्लो हुन्छ
हिउँ पग्ली पहाड र तराईलाई धुन्छ
हिमाल, पहाड, तराईलाई एकै ठाउँमा घोलौँ
जब एउटा होस्टे भन्छ अरू हैँसे बोलौँ ।
पाखुरीमा हिम्मत र आँट जुटाएर
हत्केलामा डाँडाकाँडा पहाड उठाएर
नेपालको माटोलाई जोगाएर राखौँ
अन्तै जाला गौरव हाम्रो सम्हालेर राखौँ ।
मेची, कोसी, गण्डकीलाई अँगालोले छोपी
यो पानीले यै खेतको टारी, खेत रोपी
कान्ला कान्ला सिर्जनाको रेखा कोर्दै जाऔँ
गह्राभरी जाँगर पोखी डल्ला फोर्दै जाऔँ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
