तिनीहरूको छालाको रङ सेतो छ
सेतो हुनु राम्रै कुरा हो
छालाको रङजस्तै मन पनि सेतो भए
झनै कति राम्रो

मेरो र मजस्तै लाखौँ मान्छेहरूको छालाको रङ कालो छ
कालो रङ हुनु नराम्रो होइन
कालो छाला ओढेका धेरैको मन सेतो छ
यो धेरै राम्रो कुरा हो

सेतो मनबाट सेतो नै सोच निस्कन्छ
सेतो सोचले बनाउँछ संसारलाई सुन्दर
बस्न लायक
सास फेर्न लायक

तर संसार निष्ठूर छ
सेतो छालाभित्रको कालो मन, कालो सोच
ख्याकभन्दा कुरुप छ
सलहजसरी फैलेको छ त्यही सोच
र सृष्टिका सुन्दरतालाई खाइरहेको छ
चारैतिरबाट घेरेर राखेको छ त्यसले

कालो छाला मेरो परिचय
तिनीहरूको असीम घृणाको रङ
जेसुकै पनि धेरै भए प्रतिरोध हुन्छ
छोड, ठाउँ छोड अब
यो खुल्ला प्रकृति मेरो पनि हो
म जर्ज फ्लोइड,
तिनीहरूको सेपमुनि मलाई सास फेर्न गाह्रो भो ।