राता झण्डा फर्फराउँदै
निधारमा माक्सको हड्डीको चन्दन पोतेर
बाटोमा मजदुरहरूको छाला ओछ्याएर
ऊ हिँड्छ हत्कडी बाँधेर हाम्रा खुट्टाहरूमा ।

हामीले गाउँन थाले
हाम्रा जिब्रामा किला ठोक्छ
हामीले बोल्न थाले
हाम्रा ओठमा ताल्चा झुण्डाउँछ
हामीले लेख्न थाले
हाम्रा हात काट्ने आदेश दिन्छ
विद्रोही खुट्टामा गोली हान् भन्छ
शून्य सन्नाटालाई शान्ति घोषणा गरेर
ऊ हाम्रो चिच्चाहटलाई अशान्ति हो भन्छ
प्रत्येक घाउहरूलाई हाँस्ने आदेश दिन्छ ।

कोदालो बोकेर आरन हिँडेको किसानसँग डराउँछ
र सुनपानीमा चोबेर वाइड हड्डीका टुक्रा फ्याँक्दै
ऊ सुँघ्न लगाउँछ आफ्ना पाल्तु कुकुरहरूलाई ।

हाम्रो हरेक विद्रोहमा ऊ डराउँछ
मधेश मेरो हो भन्छ
ऊ मधेशीसँग डराउँछ
पहाड मेरो हो भन्छ
ऊ पहाडी सँग डराउँछ
नेपाल मेरो हो भन्छ
झोलामा बम बोकेर सिमा नाघेको आतंकवादी जस्तो
ऊ डराउँछ यो देशको प्रत्येक नागरिकसँग
फुटपाथमा बसेर चिया पिउन डराउँछ
आफौले व्यापार गरेको अस्पतालमा उपचार गर्न डराउँछ
र रातारात उड्छ जाल बोकेर विदेशी स्याउला खोस्रन ।

ऊ बलात्कारलाई बहादुरी ठान्छ
र शरीरमा छिर्का परेको खुनलाई क्रान्ति भन्छ
ऊ डराउँछ कपालमा रातो रुमाल बाँधेको गोठालोसँग
तर्सिन्छ घर छाडेर ओरालो हिँडेको
परदेशीको निधारमा रातो अक्षता देखेर
टाङमुनिबाट गाउँछ राष्ट्रिय गान
पुच्छर हल्लाउँछ भुक्छ पछिपछि हिँड्छ
पछिपछि हिंड्छ पुच्छर हल्लाउँछ भुक्छ

हामीले लेखेका किताब पढ् भन्छ
हामीले लेखेको इतिहास पढ् भन्छ
हाम्रा भक्तिगाना गा भनेर सूचना दिन्छ
हाम्रो विरुद्ध कविता नलेख् भन्छ
ऊ डराउँछ हातमा माक्सका किताब देखेर
घोषणा गर्छ बाघीहरूलाई देशद्रोही
डरा भनेर डर देखाउँछ हामीलाई
ऊ डराउँछ हनुमान चालिसा नभट्याउनेसँग
ऊ डराउँछ स्कुल नजाने हरेक बालकहरूसँग ।

हामी हिँड्ने बाटोमा
कर्फ्यू लगाएर इतिहासको लामो नमीठो साइरन बजाउँदै
अगाडि पछाडि नन्दी भृंगि सुरक्षा राखेर
कुनै अपराधी हिंडेजस्तो हिंड्छ
इस्पातका मोटरमा मुख लुकाएर
गाउँमा कुखुरा चोर्न आएको चोरजस्तो लुसुक्क परेर
ऊ यो बाटैबाटो भएर हिँड्छ ।

श्रमिकहरूले उपहार ल्याएका खेलौना लुट्छ
निर्धनहरूले ल्याएको मतपत्र च्यात्छ
न्यायालयलाई भान्साघर बनाउँछ
र पकाउँछ आफू अनुकूल रोटीहरू
छाड्छ अपराधीलाई पैसामा
दिनदहाडै किन्छ
दिनदहाडै बिक्छ
दिनदगाडै नांगिन्छ
तपाईंलाई थाहा छ ऊ को हो?
चिन्नुभएको छ भने ऊसंग मेरो भेट गराइदिनुहोला
ऊ भर्खर मेरो एक भोट चोरेर भागेको छ ।