थोरै मैलिएर थोरै खिइएर
वर्षौं पहिले
झाडीमा हराएको क्रिकेट बलझैँ भेटिएको छ जिन्दगी ।

मैले जिन्दगीलाई अलिकति बुझ्न कति टाढा आउनुपर्यो
मेरा आदर्श गलत थिए – म अन्धो थिएँ
मेरो छाती कमजोर थियो – म निर्बल थिएँ
मेरो मनको भकारी ठूलो थियो – म गलत थिएँ

उ पर क्षितिजमा
एउटा नौलो मान्छे पर्खिरहेको थियो
मेरा फाटेका पैतालाले नजाऔं भो पनि भनेनन्
आगो बलेको पेटले सोचौँ भो पनि भनेनन्
गलेको पिठ्युले बसौँ भो पनि भनेनन्
म जोराजोरले कस्सिदै पुगेँ त्यहाँसम्म
जहां मलाई पर्खिरहेको नौलो आकृति थिएन
अझै उक्लनु पर्ने उकालो थिएन
अझै ओर्लनुपर्ने ओरालो थिएन
बस् ! एउटा निर्मल पोखरी थियो
कुनै आदिम देवकुण्ड हुनुपर्छ
त्यहाँ आफ्नै छायाँलाई हेरेपछि त बिर्सिएछु
म उज्यालो चाहान्छु या अँध्यारो ?
माया चाहान्छु या मोह ?
रस चाहान्छु या मोक्ष ?
पूर्णता चाहान्छु या रिक्तता ?
एकान्त चाहान्छु या शून्यता ?
जीवन चाहान्छु या मृत्यु ?

यो हारको अनुहार हो निहारिका
मैले जित्नु भनेकै मेरो हार थियो
मैले हार्नु नै मेरो हार हो
मलाई स्वीकार्य छ – मैले जितेर पनि हारेँ
म हारेर पनि जित्न चाहान्छु
प्रेमी झैँ
शिक्षक झैँ
सहिद झैँ

मेरो जिन्दगी त अनुत्तरित प्रश्न रहेछ
मेरो प्रश्न त जिन्दगी रहेछ –जो अनुत्तरित छ
भोक देखेँ – म लडिरहेँ
मैले बुझिनँ – को सँग लडिरहेछु ?
भोक सँग या अघाएकाहरूसँग
विचार – व्यवहार
गरिबी – शोषण
अस्तित्व – अहम्
अग्ला – चुचुरा
होंचा – बुचुरा
दरबार – सरकार
म सबैसँग लडेँ यो जिन्दगीको बगरमा
मैले बुझिनँ – म को सँग लडिरहेछु ?
खोलासँग या खोलाले बगाएकाहरूसँग ?