तिमीले पहिले भनेकी भए
अन्नत हुन सक्छ यो प्रेमको यात्रा
म घरबाट सँदाको लागि बिदा भएर आउँथे ।
र त
रसाइरहँदैनथ्यो आमाको आँखा
बुढेसकालको लठ्ठि भाँचियो भनेर
खेप्नु पर्दैनथ्यो भाइले एक्लै ऋणको भार
बदल्नु पर्दैनथ्यो बहिनीहरूले हिँडिरहेको बाटो
टोलाइरहनु पर्दैनथ्यो बुबाका एक थान आँखा
भित्ताको तस्बिर हेरेर ।
अलमलिने थिएन कुरिरहेका साथीका गन्तव्य
रोकिने थिएनन् बज्दा बज्दैका आँगनका मादल
निस्किने थिएनन् चित्कार सिलोकको सट्टामा
स्तब्ध हुने थिएनन् नाँचिरहेका खुट्टाका पाउजु
तिमिले त घरमा घडा थापर आउन भन्यौ
सौभाग्यको सिन्दुर र माला लिएर आउन भन्यौ
त्यसैले म तिम्रो माया रंगिएर
हातमा रातो गुलाफ र साथमा सहेली लिएर आएा
समयले यसरी झुक्यायो कि !
न म तिमीसम्म पुग्न पाएँ
न तिमी मसम्म आउन भ्यायौ
न पश्चाताप तिमिले गर्न पायौ
न मैले गर्न पाएँ
म सोचिरहेछु !!!
गेटैनिर तिम्रो पाउलाई स्वागत गर्न झुकेका लालुपातेका शिर
उठे कि उठेन ?
तिमीलाई चुम्न रगत बगाउदै लम्केको
गुलाफका हाँगाको रगत थामियो कि थामिएन ?
तिम्रो शिर सम्मको यात्रा निस्केका
सयपत्रीका थुङ्गाहरू कहाँ अलमलमा छन् ?
म सोचि रहेछु !
तिम्रो प्रेमको रफ्तारमा म सँगै बगेका
ती गुलाफका बास्ना तिमीसम्म पुगे कि पुगेन ?
विगतमा हामीले बिताएका साझा पलहरुम सँगै बगे कि
अलिकति तिमीसँग पनि छ ?
खैर ! जे होस् म तिम्रै अनन्त प्रेमको यात्रामा हुनेछु,
आशा छ कुनै मोडमा हाम्रो भेट त्यो अलौकिक संसारमा हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

