अँध्यारो छैन,
उज्यालो नै छ
उज्यालोबाट तर पनि
गुजमुज्ज परी देखा पर्छ एउटा अजिङ्गर
र रोकिदिन्छ बाटो
मानव विकासको
कसले भत्काइदियो
अगाडि हिँड्ने बाटो
गम्रयाङगुम्रुङ
कि हामी हिँड्न सकिरहेका छैनौँ ?

हिंड्न नसकेर,
रोकियो गति
थुनियौं हामी आफ्नै बन्दी बनेर
संगै थिए आफन्तहरू पनि
र साट्यौं मनका कुराहरू
मेट्यौं असमझदारीका मयलहरू
पखालिए बिमतिहरू
केही नयाँ सम्बन्धहरू बने
केही नाताहरू टाढिए
शायद, चिन्यौं आफैले आफूलाई ।

हो,
हिंडिरहेको त्यही बाटो
अचानक भत्कियो यसरी भत्कियो कि अगाडि न केही थियो
न केही देखियो पछाडी
पछ्याउँदै आएका असङ्ख्य आकृतिहरू
जहीँको तहीँ रोकियो
लाग्यो, अब प्रलय भयो
फुल्दै गरेका यी फूलहरू
खेल्दै गरेका यी ससाना नानीहरू
अनन्त सपना लिएर
मुस्कुराउँदै गरेका ती यौवनाहरू
लाग्यो, सबै विलय भयो
हिंड्दै गरेको यी बाटोहरू
जसै एकाएक गर्लम्म ढल्यो

ढल्यो
त्यो बाटोसङ्गै
मेरो जोबनको एउटा आयु ढल्यो
अणु अणु केलाएर उठाएको
मेरो इतिहासको एउटा खण्ड ढल्यो
ढल्यो
बढो जतनले सिङ्गारेको
मेरो प्रेमको सुषुप्त त्यो “ताजमहल” ढल्यो ….

एउटा क्यान्भास
जहाँ कोरिएको छ एउटा बाटो
बाटोमा देखिरहेछु
एक नग्न आमा
माटोमा देखिरहेछु
एक धुलाम्य पिता
नफर्कने यौवनको लालसामा
कुप्रिरहेका बृद्धहरूको लामो लस्कर
उता मुस्कुराउँदै गरेको
एक कटु मुस्कान
जो घाम चपाउने असम्भव
दुस्साहस गरिरहेछ
म देखिरहेछु
पर नानीहरू यतै आइरहेछन् ।

[ प्रस्तुत कविता ‘शब्दपथ’को संयोजनमा चार कविहरू किशोर पहाडी, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ र स्नेह सायमीले लकडाउनमा आ-आफ्नो कोठाभित्र बसेर संयुक्त तयार पारेका हुन्]