महेश्वर शर्मा

मैले वर्षौंदेखि यी आँखाहरुलाई
साँधिरहेको छु
तिमीले देखेका सबै
सत्यहरु भन्न मिल्छ?

आँखाहरुको हृदयको भित्री गहिराईमा
भरिएको आगोले
यसरी डढेलो लगाएको छ कि
यिनीहरु
पानीले डढेलो लगाएको भन्नु पर्छ
रातलाई दिन भन्नुपर्छ र दिनलाई रात
ए आँखा तिमी भित्रको आगो
यसरी दन्किएको छ कि
तिमीलाई निभाउन
पानी होइन आगो नै चाहिने भएको छ

मेरो देशको माटो
हृदयमै टाँसेर बाँच्ने
मेरा देशका अरु आँखाहरू पनि छन्
ती आँखाहरुले माटोको सुगन्धमा
आफ्नै सिङ्गो बैंश घोलेर
एक जीवन बाँचिरहेका छन्
ती आँखाहरु हृदयको
भित्री गहिराईबाट
बगिरहेको सिङ्गो बैँशको झरी
बोकेर चुपचाप बाँचिरहेछन्
केवल बाँच्नकै लागि ।

उद्वेलित जीवनको मातले
हिर्काएका आँखाहरु
सत्य बोल्न छाडेको वर्षौं भो
आँखा धमिलो भएको छ
धमिलिएका आँखाहरुको
मस्तिष्क चल्नै छोडेर होला
सायद उनीहरुले
सेतो रङलाई कालो भनिदिन्छन्
र कालोलाई सेतो
आँखाले हेर्नु र हेरेजस्तो गर्नु फरक हुन्
हृदयले सत्य बोलेनेहरु आँखाले हर्छन् र?
आख़िर जीवनको आँखा त हृदयमै हुन्छ नि है??

मलाई आँखा
धमिलो भएका न्यायलयहरुसँग
आजभोलि खुब डर लागेर आउँछ
वर्षौंसम्म आफ्नै छोरीको
न्यायको निम्ति अन्तिम स्वास
पर्खिएर बाँचेकी आमाले
न्यायालयको
अन्तिम फैसला सुन्न नपाउँदै अस्ताइन्
अस्ताइसकेको सूर्यलाई
वर्षौंदेखि धमिलो आँखा बनाएर बसेका
आँखाहरुले फैसला सुनाए
र, भनिदिएं प्रमाण पुगेन ।

मेरो देशको माटो हृदयमा
टाँसेर बाँच्ने आँखाहरुले
सोधिरहेछन्
यी धमिला आँखा बनाएर बसेका
न्यायलयहरु कहिले भत्किएलान्?