सीता हुन् उनी
तर तिमीले सोचेको जस्तो
राजा जनककी छोरी हैनन्
उनी अर्थात् सीता दर्जी
सञ्जोग भनौँ या भाग्य
उनी रामकी श्रीमती
तर तिमीले पुज्ने भगवान् राम हैन
राम दर्जीकी श्रीमती
घरीघरी उनले नाप्ने
कपडाका ती इञ्चिटेपहरुले
यदि नाप्न मिल्थ्यो भने विभेदका
एक एक इञ्च इञ्चलाई
घरीघरी उनले चलाउने कैँचीका धारहरुले
काट्न सकिन्थ्यो भने
विभेदका ती मसिना फलामका धागाहरुलाई
जो युगौँदेखि समाजको मस्तिष्कमा
एउटा खिया लागेको
फलामे तार बनेर बसेको छ
जुठे दाइले आरनमा धार लगाइदिएपछि
धारिलो भएको हसियाझैँ
यदि किताबका अक्षरहरुले
खिया लागेका मस्तिष्कका फलामे तारलाई
धारिलो बनाएर उदाइदिने भए
सीता दर्जीको कोखबाट जन्मिएको
लवकुसलाई किन स्वीकार्न चाहँदैनन्
आधुनिक द्रोणाचार्यहरू
भरी सभामा मौन बसेका
भीष्म पितामहहरुलाई आफ्नो मौनता तोड्न
अझै कति समय लाग्छ
गान्धारीले झैँ तिम्रो आँखामा बाँधिएका
विभेदका ती काला पट्टीहरुलाई खुल्न
भन अझै कति समय लाग्छ
तिम्रा खुट्टाका एक-एक पाइलाहरू नापेर
तिम्रो निम्ति साइँला सार्कीले बनाइदिएको
छालाका जुत्ताहरू लगाएर
छालाका पेटीहरू लगाएर
भन कहिल्येसम्म कुल्चिन्छौ
त्यही साइँला दाजुका पैतालाहरुलाई
यो सीता दर्जी
सीता बनेर धर्तीमा भासिन्न
किनकि तिम्रो यो युगमा
भेट्न नसकेका कयौँ जवाफहरू
खोज्नु छ यो सीता दर्जीले
साँवा अक्षर छिचोलेकी यो सीता दर्जी
सबै मानिसहरुको शरीरमा
केवल हाड र छाला मात्र देख्छे
रातो रगत मात्र देख्छे
जसले पछि चिताको धुँवाबाट उडेको
खरानीको थुप्रो मात्र देख्छे
तर तिमीले पढ्ने ती किताबहरुमा
साँच्ची के के लेखिएका थिए
जस्ले घन बनेर
अझै पनि फोर्न सकेन
तिम्रा मस्तिष्कमा जमेका
विभेदका ती चट्टानहरूलाई



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

