रहरले हैन बाध्यताले
मात्तिएका नशालु आँखाहरू सर्प कुदेझैँ
मेरो शरीरभरि दगुर्छन
बनावटी हाँसो हाँसेर रित्तो गिलासमा
मेरो थोत्रो यौवन निचोरिदिन्छु
एकैछिनको लागि
तिनको नजरमा मेरो भट्टी स्वर्ग हुन्छ ।

म समाजलाई खोज्छु
तर समाजले मलाई खोज्दैन
कसैका दाजु होलान्
कसैका भाइ होलान्
तर मेरो भट्टीमा छिर्नेजति सबै
मेरा लागि ग्राहक हुन
ग्राहक रिझाइसके पछि बेस्सरी रुन्छु
मेरा प्रत्येक आँसुका थोपामा
प्रष्ट देखिन्छन्
छोराछोरीको भविष्य
आमाको हाँसो
अनि बाको सपना ।

नियतीका कारुणिक नजरमा त म प्यारी छु
तर भलाद्मीको नजरमा
म समाजको दुर्गन्ध हुँ
कसैले बुझिँदिदैनन् मेरो विवशता
सयौँ मन रिझाएर पनि
एक्लो शून्यतामा बिताइरहेछु दिनचर्या
कहाँ देश !
कहाँ मानवता !