फैलाऊ अब चेत विश्वभरिमा पूर्वीय संस्कृतिको
कस्तो अमृतपान हुनेछ सजिलै आधार समृद्धिको
खोजेथे अति कष्ट सहन गरी पुर्खा तपस्वी थिए
कस्तो अमूल्य ज्ञान बटुली हामीलाई उपहारै दिए।
भाषा जीवनको प्राणसरी हो संस्कृत नै उत्तम
छोड्यौ चटक्क मतिभ्रमित भै बुज्दै नबुझीकन
कस्ता उत्तम थे ज्ञान भरिएका ती पञ्चतन्त्रै कथा
बिर्सेथ्यौ भन्न सन्ततिहरुमा त्यसले बढाए व्यथा।
कस्तो सुसंस्कृत थियो परम्परा थुप्रो गुणको भरी
त्याग्यौ कसोरी ओहो अबुझभै चाहिँदै नचाहिने गरी
पोतेको गोबरले दहिलो घरको गर्थ्यो निरोगी घर
हुन्थ्यो नित्य नै योग घरमा दिन्थ्यौ जीवनलाई भर।
पुर्खाका गहकिला अन्वेषण ठूला आयुर्वेदका कुरा
पार्थेनि बिसेक रोग सजिलै जस्तै भए नि पुरा
गर्थ्यौ पूजन अस्तित्व जसको थियो धरामा पनि
राखेथे बडो जतन गरी सब दिव्य खजाना पनि।
लिन्थ्यौ प्रकृतिबाट उत्ति नै चल्थ्यो गुजारा जति
बिर्सियौ दोहन हानिकारक भनी भोग्नु छ पीडा कति
छोड्यौ चटक्क व्यवहार पुराना अस्तित्व सस्तो भयो
गर्दा नक्कल अरु संस्कृतिको समाज भ्रस्टै भयो।
पूजा पीपलको गरेथे सबले हो रुप विष्णु भनी
गर्छन् नाग पूजन अति ठूलो कामका यिनै हुन् भनी
विषालु सब चिज जगका सर्पैले हुन पिउने
पाउँछु वृक्षबाट अक्सिजन यहाँ आधार हो जिउने।
जोडेर हात अति खुसी भै गर्ने नमस्कार पनि
कस्तो राम्रो रहेछ नि ओहो हाम्रो संस्कार पनि
भान्सा प्रवेश थियो अति कडा फेरेर लुगा अनि
बस्ने आसन थे अति मजा राख्थेनी स्वस्थ्यै पनि।
सारा विश्वबन्धु सोदर सबका बन्धुत्वको भावना
शान्ती निर्बिकल्प अधिकार जनको अहिंशाको कामना।
शाहाकारी भोजन अति मिठो निक्कै गुणले भरी
बन्नेछ समुच्च बिस्व सुन्दर घर यो धर्म पालन गरी।
सैंबु, ललितपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

