प्रदीप लामा

कुल्चिएर बाटो मुनिको एउटा फूल
भेरी नदीको आत्माभित्र अछुत रगत मिसिएकाे छ
अब मन्दिरमा चढाउने पानी चल्छ चल्दैन?

एक चौथाई साँइली सुनको औंठीसँगै
बगरमा दुई चिम्टी अछूत सिन्दुर पोखिएको छ
अब घाटमा लासहरु जल्छ जल्दैन?

फुटेर मूल्यहीन प्रेमिल मुटुको भाग्य चट्टानमा
कालरात्रिमा जस्तै रगत लतपतिएको छ
अब चट्टानबाट मूर्ति बन्छ बन्दैन?

कठिन अन्तिम स्वासहरुसँगै
अछूत भौतिक शरीर पञ्चतत्त्वमा विलिन भएको छ
अब मान्छेले स्वास फेर्छ फेर्दैन?

ब्लड ब्याङ्कको एक पाउण्ड बाँकी रगत कस्को हो?
रक्तनलीमा छेकबार गर्ने ढोका हुन्छ हुँदैन?

(कवि लामा काठमाडौँस्थित प्रसादी एकेडेमी र लिटल एन्जेल्समा रसायनशास्त्र अध्यापन गर्छन्।)