मेरा बाल सुलभ मस्तिष्कहरूले
के सम्झदी हुन् मेरी आमा
उनले दिएको डेरिमिल्क
भित्रको अमिलोपन
भोकाएका मेरा पेटहरूले जे देख्छन
तिनै माथि रसाउन जिब्रोलाई आदेश दिन्छन्
मेरो बालसुलभ मस्तिष्कलाई
के थाह आमा ?
खानेकुरालाई देखेपछि रसाएका मेरो जिब्रो जस्तै
मेरो शरीर देखेपछी कसैको जिब्रो रसाउँछ भनेर ।
पितृ वात्सल्य नपाएकी म
मलाइ सबैले नानू तिमी भनेको मायाले सुम्सुमाउँदा
पिताको रूप देख्ने म ।
मलाइ अंकल भन्न सिकाउनेहरूको
त्यो सुम्सुमाइमा प्रेम हैन हिंसा लुकेको छ भनेर ।
मेरो बाल सुुलभ मस्तिष्कले पत्ता लगाएन मेरी आमा
मलाइ कठै भनेर मेरा अगाडि आँखा रसिला पारिदिनेहरू
राप्तीका घडियाल गोही जस्तै रहेछन् भनेर
सिकारको अगाडि गएर पिलिक्क रुने अनि
स्वाठ्ठ जिउँदै निल्दिने ।
न फुल्न सकेकी म नफलाउन जानेकी म
न जवानसँग परिचित म
नजवानीसँग परिचित म
तिनै अपरिचित भावहरूको आँकलन गरेर
मेरो कोपिला जस्तो शरीरलाई निमोठ्नेहरूसँग
मेरो जिन्दगी सुरक्षित देख्ने
तिम्रा अदालतका न्यायाधीशहरूको
निर्णय र आदेशको भाव मेरो बाल सुुलभ मस्तिष्कले
बुझेन आमा ।
तिमीले खाना खान आइज भन्दा आउने
तिमीले साहूको गोडा मिच्न जा भन्दा जाने
तिमीले स्कुल नजा पैसा छैन भने पछि
चुपचाप घर बस्ने म
फेरि तिमीले मलाई लुच्छ्नेको हात समाएर
मेरो भविष्यलाई मध्यनजर गरेर जा भन्यौ
म फेरि गए चुपचाप केही नबोली ।
मेरो बालमस्तिष्कले बुझ्न सकेन मेरी आमा
मैले समाएको मनुष्यको हात रूपी सिउँडीको काँडो
मेरो काल हो भनेर
आफ्नो हक आफ्नो जीवन आफू हुनुको अस्तित्व
एक सरो नाइलनको डोरीमा अडेको छ भनेर
मेरो बाल सुलभ मस्तिष्कले बुझेन मेरी आमा
मेरा योनी चोखो
हुनेहरूलाई म कसरी बिटुलो
भएँ भनेर ।