
अजित अधिकारी
बन्दाबन्दी सातौं दिन
बन्दाबन्दी सत्रौं दिन
बन्दाबन्दी सत्ताइसौं दिन
…..
बन्दाबन्दी सन्ताउन्नौं दिन
….
यसरी लम्बिदै गएका बन्दाबन्दीसFगै
तन्किएका छन् अनगिन्ती अभाव र भोकहरु
चुड्न सक्छ अब भोकले चिमिर्किएको आन्द्रो
सुक्न सक्छन् अभावले फुस्रो भएका ओठहरु
अनि ढल्न सक्छन् आस्था र विश्वासहरु
वाह लोकतन्त्र!
तँलाई ल्याउन
काँधको हलो, जुवा फ्यात्तै फालेर
निस्किएका थिए काकाहरु आन्दोलनमा,
घाँसको भारी कान्लामै छोडेर
भीरभीरै आएका थिए
दिदी, बैनी अनि भाउजूहरु सडक तताउन,
ठोस्दै गरेको अगुल्टो छोडेर
आएकी थिइन् आमा
मुर्दाबाद र जिन्दाबादका नारा लगाउन,
ठेलाभरी सपना बोकेर हिँडेको भाइ
होमिएको थियो आन्दोलनमा
अघिअघि नारा लाउँदै
र, थापेको थियो गोली छातिभरि
छिट्टै गरिबका दिन आउँछन् भनेर।
गरिबका दिन त आए आमा
तर छिट्टै मर्ने दिन पो आए!
ए सरकार!
जब भोको पेट,
नाङ्गा आङ,
तिर्खाले सुकेका घाँटी,
अभावले थिलिएको शरीर
विद्रोहमा उत्रिन्छन् नि,
थेगिनसक्नुको हलचल आउन सक्छ,
सडकभरी भोकहरु उत्रिनेछन्,
सडकभरी नाङ्गा जुलुस निस्किनेछन्,
त्यसैले ए सरकार
अब क्वारेन्टिन होइन
एक वडा एक पागलखाना व्यवस्था गर।
अथाह भोक, रोग र अभावले
जनता छिट्टै पागल हुनेछन्
भोको पागल चिच्याउनेछ
व्यवस्थाविरुद्ध,
पागलहरुको हुल बढ्नेछ
सडक हुँदै
उतै आलिशान नयाँ दरबारतिर।
ठीक त्यतिबेला
थुन्दै घाँटी लामबद्ध पागलहरुको
भाँचेर खुट्टा सरकारविरोधी पागलहरुको
लगेर कोच्नु पर्छ, लोकतान्त्रिक पागलखानामा
र बजाइदिनुपर्छ बाहिरपट्टि चर्को स्वरमा
रेकर्डेड कविता
“भोकले कोही मर्नु पर्दैन”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

