फेरि नफर्किने गरि
तिमी आउँदिनौ भने
भो अब कहिल्यै नआऊ
म पर्खाइको एउटा उत्कर्षसँग
गहिरो प्रेम सम्बन्धमा छु
त्यही दिन हो
मैले पहिलोपटक बताससँग कुरा गर्न सिकेको
जुनदिन हामी सपनाहरूको थैलो कसेर
छिट्टै बाँधिने बाचामा एक्लिएका थियौ
त्यही समय हो
सधैँ सधैँका लागि हाम्रो धड्कन साझा बनेको
जुनबेला हाम्रा अधरहरूले दूरी घटाएका थिए
जब मेरो स्पर्शमा तिम्रा नयनहरू झुकेका थिए
यो पनि हो
तिमी आएदेखि नै
तिम्ले र मैले
आफूलाई बिर्सिने होडमा
हातेमालो गरेका
पक्कै त्यही कारण होला
मेरा स्नायुहरू तिम्रो गीतले भरिए
अफसोच
तिम्रा रक्तसञ्चारहरू कस्तो धूनमा लठ्ठिए ?