रामराज न्याैपाने

जागौँ जागौँ नेपाली देश बचाउनलाई।
तराई पहाड हिमालको मुहार हँसाउनलाई।।
कहिले आउँछ कालापानी कहिले महेशपुर।
कहिले आउँछ सुस्तातिर कहिले सन्दकपुर।।
सिमानामा बाँध बाध्छ आफूखुशी आई।
तराईका बस्ती हाम्रा डुबान पार्नलाई।।
बलभद्र अमरसिंह सम्झौँ पुर्खालाई।
भक्ति थापा पनि भए देश रक्षालाई।।
काँगडा र टिस्टासम्म सीमा हाम्रो थियो।
सुगौली र खुम्चाएर मेचीकाली भयो।।
कालापानी लिपुलेक सुस्ता भन्दै जागे।
स्वाभिमानी नेपाली भै बचाऊ भन्न लागे।।
गोर्खालीको बहादुरी देखाउन थालौँ
पुर्खाको त्यो शान मान गौरव नफालौँ।।
सरकारद्वारा दीर्घकालीन समाधान गरौँ।
वार्तावार्ता भन्दै सधैँ छलमा नपरौँ।।
नेपालीले सधैँ यस्तो दुःख पाउनु हुन्न।
लिपुलेक सुस्ता कहीँ गुम्न दिनु हुन्न।।
वीर पुर्खाहरुको शीर झुक्न दिन हुन्न।
अदम्य त्यो साहस सम्झौँ देश गुम्न दिनु हुन्न।।
राष्ट्रवादी नेपाली हो अब जागौँ जागौँ।
दिदीबहिनी दाजुभाइ सरकार सबै लागौँ।।
स्वतन्त्र यो देश हाम्रो स्वतन्त्र भै बाचौँ।
यो समस्या सुल्झाएर खुशीसाथ नाचौँ।।

चन्द्रगढी, झापा