शिखर दुलाल

दीप प्रज्ज्वलनकाे घाेषणा रगरगाएकाे बेला
संत्रासले मडारिएकाे कालाे बादलसँगै
महामारीको मेघ गर्जनले निम्त्याएकाे
भाेकाे पेटकाे दुर्भाग्य
त्याे नियतिकाे एउटा खेल
आकास पग्लिएर झरेकाे असिना झैँ
लकडाउनकाे वर्षातले लडेकाे पहराे
निशब्द !
छातीमाथि
कर्म युद्धको “नाम्लाे” साँची राखेर
झ्याप्प निभेकाे दियाे
गणतन्त्रको पहरेदार सूर्य बहादुर तामाङ।

कथैकथा भित्रका कथा र व्यथाहरु
एउटै समानताकाे विगुल धाेद्रिरहँदा
भाेगाई र यथार्थ झस्काउने काउछाहरुले
समाजिक दम्भकाे पराकाष्ठा इङ्गित गर्दै
धिप धिप धिप धिप
घाेषणा सदर गर्न बलेका दियाहरु
श्रद्धाञ्जली व्यक्त गर्दै सम्झाउँदैछन्
नवराज बिककाे विभत्स अध्याय पनि।
साँच्चिकै भन्ने हाे भने
लिपुलेकमा ब्याएकाे कालाे बिरालाे
ङ्याउरा हराएर बाटाे काटेकाे रडाकाेले
सिहदरबारमा काेरेका नक्सा हेर्दै
आउरेहरु, चाउरेहरु
चम्चाहरु, डाडु पन्युहरु सबै
ट्याङट्याङ! टुङ टुङ !
ट्याङट्याङ! टुङटुङ,
हलुङ्गे थर्केकाे आवाज बजाउँदै भान्सामा
कुडे काेरेर गणतन्त्रको कुराउनी
तछाड मछाड गरेर औँला चाट्दै हाेलान्

भट्याउदै हाेलान् सामन्तवादकाे हुटिट्याउकाे हुटहुट ! हुटहुट !

बाल्दै घाेषणाका दियाहरु
जिन्दावाद ओकलेर गिज्याउँदै हाेलान्
धिप धिप धिप धिप
बल्दै गरेकाे सलेदाेलाई।
हाे
मधेस डुक्रन सक्दैन यसबेला
बिम्बहरु प्रतिबन्ध छन् उस्का दम्भहरुका
कुण्ठित साम्राज्यले ताल्चा मारेर उसका
स्वाभिमानहरु हराएका छन्
ऊ मात्रै सुन्ने गर्छ, मौन बस्छ

छक्का दाउकाे सुनचरीलाई पर्खेर बसेकाे छ
सुनका अण्डा काेरल्ने सपनामा,
डुबिरहेछ मनमनै र जिस्क्याउँदैछ
गणतन्त्रको धिप धिप धिप धिप
बल्दै गरेकाे घाेषणाकाे दियाेलाई।

आकास धुम्मिएकै छ ! मेघ गर्जिरहेकै छ । तेल सक्किएका दियाेहरु
धिप धिप धिप धिप जलिरहेछन्
शीर्ष घाेषणालाई सिराेपर मानेर
सलेदाे नसकिउन्जेलसम्मलाई
धिप धिप धिप धिप बलिरहनेछन्
धिप धिप धिप धिप बलिरहनेछन् दियाहरु।

शिखर दुलाल
नर्थ क्याराेलाइना नेपाली साहित्य समाज, अमेरिका