कृष्ण कुसुम

ऊ लेख्थेन राजेश्वर रेग्मीले झैं–
“मेरो मृत्युको खबर सुनेपछि
सारा शहर खुशीमा रमाइरहेछ
र, एक्लो म आफ्नै मृत्युको शोकमा डुबिरहेछु”
जस्ता कविताहरु
न त पढ्ने नै गर्थ्यौ–
सिल्भिया प्लाथका “द वेल जार”
वा सारा टिज्डेका सुसाइड नोट।

ऊ एउटा शिक्षक
जो हजारौं चेलाहरुलाई सिकाउँथ्यो–
सफलताको सूत्र
र, सुनाउँथ्यो जीवन संघर्षका कथाहरु

आत्महत्याको केही क्षण मात्र अघि
उसको गतिले बताउँथ्यो– उसको हतारोपन
मुहारले देखाउँथ्यो– छटपटी
र, आँखाले जनाउँथ्यो– नयाँ कुराको खोज
यिनै विशेषताको साथ लम्किरहेको
उसको यात्रा रोकियो
एउटा डोरीको पासोमा

आफ्नै पनि माया नगर्ने ऊ
अलिकति मायालु बन्न खोज्दै
“मेरी श्रीमती, आमा र बहिनीलाई
दुःख नदिनू” लेख्छ
र हस्ताक्षर गर्छ आफ्नै मृत्युपत्रमा ।

म सोचिरहेछु ऐले–
सिंगो संसार जित्ने
यौटा उत्साही यात्रामा निस्केको मानिस
किन जित्न सक्दैन आफैँलाई
र रोकिदिन्छ जिन्दगीको यात्रा ?