प्रेमको स्निग्ध पानामा
तिमीले लेख्न सुरू गरेको
म एउटा कविता
तिम्रो मस्तिष्कबाट प्रस्फुटित
हृदयमा पल्लवित
सुन्दर अक्षर, भाव, विचार र अनुभूति
यथार्थ र कल्पनाको साकार रूप
लेख्नु , कसरी लेख्छौ मलाई
मन मुटुले लेख्नू
अगाध विश्वासले लेख्नू
कसरी सिँगार्छाै मलाई ?
रूप र अलङ्कारले सिंगार्नू ।

म तिम्रो हृदयको जीवन्त आवाज
भावनाको सुन्दर प्रतिबिम्ब
ओ कवि !
लेख्नू, तिमी मलाई नितान्त फरक शैलीले लेख्नू
मेरो आँसु लेख्नू
मुस्कान लेख्नू
बसन्त र शिशिर लेख्नू

तिम्रो हृदयको प्रेमले सजाउनू मलाई
निश्छ्ल सोच र चिन्तनको थोपाथोपाले सिञ्चनू
तिमीलाई थाहा छ नि कवि !
म तिम्रो हृदयको सुन्दर फूल
तिमी मेरो प्रिय माली
हृदयको आवाजलाई कहिल्यै शब्द चाहिँदैन
र पनि मेरो शब्द तिमी
म तिम्रो कविता
तिम्रो सृष्टि
सिर्जनाको अनुपम स्वरूप ।

म हरदम तिमीभित्रै तरङ्गीत भएर
तिमीलाई स्पर्श गरिरहन्छु
कविताको मीठो परिभाषा तिमी
मेरो जीवनको आशा तिमी
ओ कवि ! शीतल बतास बनेर सुस्तरी स्पर्श गर्नू
र पगार्नू मलाई
जसरी पगार्छन् शिशुहरूले आमाको स्तन
जसरी पगार्छन् बाछीहरूले गाईको थुन
उसरी नै पगार्नू मलाई
म तिम्रो प्रेम
तिम्रो प्रेमिल स्पर्श पाएर बन्नेछु कविता

तिम्रो भाव अनुभूतिको कोमल सिरानी लाएर
एक निन्द्रा मस्त निदाउनु छ मलाई
देख्नु छ, मीठो सपना
पढ्नु छ प्रेमको मीठो अध्याय
ओ कवि ! कसरी लेख्छौ मलाई
भनन कसरी लेख्छौ ?
मलाई तिम्रा अधरका मुस्कान भएर
आँखामा आँसु भएर
तर्नु छ जीवनको गहिरो नदी
र धेरै अप्ठ्यारो छिचोलेर
पुग्नु छ कविताको सुन्दर गाउँ ।