भन्ते, आज सोध्न मन छ
ती मानिसहरु सित,
जो आफ्ना क्षणिक प्यासहरु
बुझाउन प्रथम स्वप्नदोषको
अनुभूति नगरेकी मेरी छोरीको
जवानी पिउन आउँछ्न्,
तिनलाई मैले छोएको
किन पानी अछुतो हुन्छ?
ती जो सधैँ मेरो भट्टीको
सोमरसको घैँटो रित्त्याएर जान्छन्
मेरी स्वास्नीले छोएको
कुवाको पानी किन बिटुलो मान्छन्?
व्रत बस्दा नयाँ वस्त्र फेर्न
मेरै घर आउने बिष्टिनी
उनकी भर्खर जन्मेकी नातिनीलाई
चाहिने भोटो लिएर दौडिदै उनको घर पुग्ने मेरी स्वास्नी
तिनै बिष्टको आँगनमा आफ्नै चुँडेको चप्पल ओछ्याएर बस्छे
टुसुक्क।
बर्खामा झमझम पानी पर्दा पिँढीमा ओत लाउन
किन पाउँदिन?
मन्दिरको गजूर हालेका ती कामी दाइले
त्यही मन्दिरको देउता जागेपछि
आज तिनै मन्दिर छिर्न किन पाउँदैनन् ?
खोलामा बग्दै गरेकी बिष्टिनीलाई बचाएको
साइँलो कामीको छोराले उसकी छोरीलाई
दुई तर्फी प्रेम गर्न किन पाउँदैन?
अरुलाई खोलाको आँधीबाट बचाएर
जीवनदान दिनेले
त्यस्तै मान्छेसँग जीवन काट्न के हुन्छ भन्ते?
तिम्रो धर्मले के भन्छ भन्ते?
भर्खर मीठो स्वप्न देख्न सुरु गरेकी
हल्का लाली चढेको गुलाफ जस्ती तर नफुलेकी
किशोरीलाई लछारपछार पारेर लुछ्ने गिद्दहरुसँग
जिन्दगी नै टाँसो लाइदिनुलाई धर्म ?
कसैसँग प्रेम गरेकै भरमा
भेरीको भेलमा जबर्जस्ती हेलिइदिनुलाई धर्म?
प्रेम-निष्ठा सिकाउँछ भन्थ्यौ धर्मले
के यही हो, तिम्रो धर्मले सिकाएको प्रेम?
सोध्न मन छ भन्ते ती पण्डित पादरीसँग
ती नीति निर्मातासँग
अनि ती समाजकै रक्षक बनेका भक्षकहरुसित
रक्षा कसको हो?
बलात्कारीको ? या प्रेमीको?
रक्षा कसको हो? हत्याराको ?
या प्रेम गरेकै भरमा ज्यान गुमाउन पर्नेको ?
या परिवारको भरणपोषण गर्न भर्खर लायक बन्दै गरेको ठिटाको
प्रेमको पाठ पढ्दै गरेको युवकको?
या भर्खर विद्दालय जाने उमेरकी किशोरीको?
सुनौला सपना गाँस्नेहरुको ?
या
स्वप्न देख्ने अधिकार नराख ए चुने रैती हो भन्ने
श्री ३ हरुको?