ठाकुर बेलवासे

 

ठाकुर बेल्बासे

मन्त्रीज्यू
आमा सिकिस्त हुनुहुन्छ
सरकारी अस्पतालमा उपचारको पालो आएन
निजी अस्पतालमा लैजान आँट भएन
आमाको काल पनि आएन
आत्महत्याका लागि मेरो बल पनि भएन

मन्त्रीज्यू
तपाईंसँग घनिष्ठ बनेका वर्षहरू
जम्मा तीसवटा भएछन्
पत्रकारिताको घनिभूत सपना देखेर
भँगेरी चरोजस्तो रनबन उडिरहेका बेला
तपाईंसँग भेट भएको थियो
त्यसबेलाको तपाईंजस्तै
ख्याउटे बाटोमा

मलाई याद छ
त्यो पहिलो भेट
डेरा भाडा तिर्न नसकेर
तपाईं समयमै कोठा जान नसकेको
मलाई याद छ
पैसा नभएर
भर्खर विवाह गरेकी
श्रीमतीलाई पेटभर खान दिन नसकेको पीडा सहन नसकेर
तपाईंले आत्महत्याका बारेमा लामो कुरा गरेको

हो मन्त्रीज्यू
तपाईंलाई याद छैन् होला
मलाई याद छ
पाँच, दस र बीस रुपैयाँका नोटहरू
जम्मा गरेर मेरी आमाले पठाएको
केही हजार रुपैयाँ
मैले सापटी दिएको

अहिले तपाईं यो देशको मन्त्री हुनुहुन्छ
बितेका तीस वर्षमा
मैले समाचारमा तपाईंलाई
कति हजार पटक सम्प्रेषण गरे हूँला
न तपाईं गन्न सक्नुहुन्छ
न त म नै

बितेका तीस वर्षसम्म हामी
आकाशका तारा जत्तिकै भेटे हौँला
पत्रकारिताका नाममा
म बोझिलोबोझिलो बन्दै गए
राजनीतिका नाममा तपाईँ
दिनदिन पोटिलोपोटिलो बन्दै जानुभयो
संसद् भवन र सिंहदरबार अब तपाईंका सपना रहेनन्

हाम्रो भेट पनि पातलो बन्दै गायो
मेरो अभावग्रस्त जिन्दगी
तपाईंलाई नसुहाउने भयो
म यी सबै बुझ्दाबुझ्दै
आमा बचाउन गुहार माग्दैछु

मन्त्रीज्यू
सरकारी अस्पतालमा
आमाको उपचारको पालो आएन
आमाको काल पनि आएन
आमाले मुटुजस्तै मान्ने दाइजोको
खेत बेचेर आएको छु

मन्त्रीज्यू
उहिल्यै मैले दिएको सापटी फिर्ता चाहिँदैन
सरकारी सुविधा पनि पर्दैन
सरकारी अस्पतालमा आमाको उपचारको पालो आएन
हामी आमाछोराको काल पनि आएन
मन्त्रीज्यू
हामीमाथि कृपा गरेर
काल पठाए पनि हुन्छ ।