रवीन्द्र केसी

झरेका सपना र उदास मनले
म आफ्नो
भोगाईको क्षितिजबाट
बाँचेको जीवनलाई फर्केर हेर्छु
फरक लाग्दैन मलाई
जीवन र बादलका टुक्राहरूमा
उस्तै
अस्थिर र गन्तव्यहीन !

घरिघरि
छचल्केर विगत
पोखिन्छ वर्तमानमा
र फेरि
शून्य हुन्छन् अनुभूतिहरू
मनको त्यही शून्यतामा
वायुमण्डलका
केही ध्वनि र प्रतिध्वनिहरूले
पुनः चेतना जगाउँछ र म सुन्छु
युगले बिर्सेका
ती महान् बलिदानका ओजस्वी आवाज
निभेका दीपका उज्याला सपनाका आवाज
जवानीमै ढलेका जीवनका स्वप्निल आवाज
ती कारुणिक आवाजहरूमा !
म वर्तमानको सक्कली आवाजहरू मिसाउँछु
त्यसपछि कोलाहल बन्छ त्यो आवाज
र बुझिँदैन पटक्कै
अरबमा जवानी पोखेका चेलीहरूका वेदना
खाडीमा अस्ताउन पुगेको जीवनका सपना
र, मलाई लाग्छ
सुनिरहनुको के अर्थ छ र ती आवाज ?
भो ! सुन्दिनँ म अबदेखि यी
थिति र पद्धतिको छद्मभेषि आवाज
न्याय र समानताको लाचार आवाज
मानवीयताको संवेदनाहीन आवाज ।