सृष्टि गरी तिमीले धरतीमा पठायौ किन ?
मान्छेमा मानवता छैन भन्ने लागेपछि
जात छुट्यायौ किन ?

पृथ्वीमा,
हर प्राणी स्वतन्त्र छन्
हर जीव स्वतन्त्र छन्
हर वनस्पति स्वतन्त्र छन्
प्राकृतिक श्रोत,साधनमा
हर प्राणी—वनस्पतिको
समान अधिकार छ ।

मान्छेमात्र किन ?
मानवता मासिएर
दानव बन्दैछन दिनदिन ।

मतभेद त
ठूलो जातमा मात्र हैन
सानोसानो भन्ने जातमा नि विभेद रहेको छ ।
जातको हिसाबले “म ठूलो“ भन्नेको
दिमाखमा छेद परेको छ ।

नत्र
मूर्ति चल्छ,त्रिशुल चल्छ ।
काम चल्छ,चल्दैन पानी !
सीप चल्छ,पसिना चल्छ ।
चोखो हुने अछुत नारीको जवानी !
ठूलो भन्ने,मै हुँ भन्ने
समाजका किरा हुन् साथै अज्ञानी !
जुत्ता चल्ने,पैसा चल्ने
सनाई चल्ने,सिलाई चल्ने
नचल्ने प्रेमको फूल
खुडा,खुकुरी औजार चल्ने
नबुझ्नु बिबेकी मानवको भूल !

विधाताको छैन दोष
उसले बनायो
महिला,पुरुष दुइ कोष ।
समाजका ठेकदारले
गरिदिए रगतमा विभेद !

सबका शरीर,सबै अंग छन् बराबरी
लागे चोट,काटे हात आउछ रगत धरधरी !

सृष्टि गरि तिमीले धरतीमा पठायौ किन ?
मान्छेमा मानवता छैन भन्ने लागेपछि
जात छुट्याएयौ किन ?