आज सोध्न मन छ
ती मानिसहरूसँग
जो आफ्ना क्षणिक प्यासहरू
बुझाउन प्रथम स्वप्नदोषको
अनुभूति नगरेकी मेरी छोरीको
जवानी पिउन आउँछन्
तिनलाई मैले छोएको
किन पानी अछुतो हुन्छ ?
ती जो सधैँ मेरो भट्टीको
सोमरसको घैँटो रित्याएर जान्छन्
मेरी स्वास्नीले छोएको
कुवाको पानी किन बिटुलो मान्छन ?
व्रत बस्दा नयाँ वस्त्र फेर्न
मेरै घर आउने बिष्टेनी
उनकी भर्खर जन्मेकी नातिनीलाई
चाहिने भोटो लिएर दौडिँदै उनको घरपुग्ने मेरी स्वास्नी
तिनै बिष्टको आँगनमा आफ्नै चुँडेको चप्पल
ओछ्याएर बस्छे टुसुक्क ।
बर्खामा झमझम पानी पर्दा पिँढीमा ओत लाउन
किन पाउँदिन ?
मन्दिरको गजुर हालेका ती कामी दाइले
त्यही मन्दिरको देउता जागेपछि
आज तिनै मन्दिर छिर्न किन पाउँदैनन् ?
खोलामा बग्दै गरेकी बिष्टेनीलाई बचाएको
साँइलो कामीको छोराले उसकी छोरीलाई
दुई तर्फी प्रेम गर्न किन पाउँदैन ?
अरूलाइ खोलाको आँधीबाट बचाएर
जीवनदान दिनेले
त्यस्तै मान्छेसँग जीवन काट्न के हुन्छ ?
तिम्रो धर्मले के भन्छ ?
भर्खर मीठो स्वप्न देख्न सुरु गरेकी
हल्का लाली चढेको गुलाफ जस्ती तर नफुलेकी
किशोरीलाई लछारपछार पारेर लुछुने गिद्दहरूसँग
जिन्दगी नै टाँसो लाइदिनुलाई धर्म ?
कसैसँग प्रेम गरेकै भरमा
भेरीको भेलमा जवर्जस्ती हेलिइदिनुलाई धर्म?
प्रेम निष्ठा सिकाउँछ भन्थौँ धर्मले
के यो तिम्रो धर्मले सिकाएको प्रेम हो ?
सोध्न मन छ ति पण्डितसँग
ती नीति निर्मातासँग
अनि ति समाजकै रक्षक बनेका भक्षकहरूसँग
रक्षा कसको हो ?
बलात्कारीको ? या प्रेमीको ?
रक्षा कसको हो ? हत्याराको ?
या प्रेम गरेकै भरमा ज्यान गुमाउन पर्नेको ?
या परिवारको भरणपोषण गर्न
भर्खर लायक बन्दै गरेको ठिटाको ?
प्रेमको पाठ पढ्दै गरेको युवकको?
या भर्खर विद्यालय जाने उमेरकी किशोरीको ?
सुनौला सपना गाँस्नेहरूको ?
स्वप्न देख्ने अधिकार नराख
ए ! चुने रैती हो भन्ने
श्री ३ हरुको ?