डिलाराम अधिकारी

नेपाली हौं वीर जाति विश्वको विभूति
भनेका थिए अघि विश्वले विश्वास पात्र जाति
देशभक्ति देवभक्ति थियो कत्रो शान
दिन प्रतिदिन हीन हुँदै छ आजकाल हाम्रो मान
यसै निम्ति भन्छु भाइ आफ्नै बोली बोल
सांस्कृति र भाषा बोली व्यर्थैमा नपोल
चार वेदका मालिक हामी केमा कम्ति छौं र ?

हाम्रै वेदको सार आज विश्वभरि हेर
यत्रतत्र सबै कुरा वेदबाट बन्ने
संसारमा हुने कुरा बसी–बसी जान्ने
राजनीति धर्म नीति मुक्ति हात लाग्ने
औषधिको भक्ति थियो मरी फेरि जाग्ने
यस्तो वेदको मालिक आफैं भई अन्य बोली

बोल्नु किन ! विचार गरी लिउँ भित्री आँखा खोली
देखासिकी मात्र गर्ने बानीलाई छोडौं
वेदरुपि जमिन फोडी विश्वको सेखी तोडौं
छक्क परी हेरिबस्ने बेला हैन भाइ
वेदको रसले सिचौँ अब मातृभूमिलाई
हामी उठे देश उठ्छ होला सुख भोलि
सबै भाइ मिलिजुली बोलौं आफ्नै बोली ।