म बादल बनेर उड्दै
आकाश सुम्सुम्याइरहन्छु
समयसँग थुनिएर
उडिरहेछु एक धरातलबाट अर्को धरातल
अनियन्त्रित द्वन्दबीच
चलिरहन्छ युद्ध
एक आपसमा कुरुक्षत्र बनेर
कहिले आफैसँग
कहिले मसँग
प्रेम वार्तालापमा बगिरहन्छु
आकाश माथि माथि
अनि धरातलसम्म
सलल् नदी बनेर
दुबै किनार अंगाली बगिरहन्छु
कहिले खहरे बन्दै उर्लिरहन्छु
दुबै किनार बगाएर
स्वत्तर बगर बगरबीच
बादल बादलबीच ठोक्किरहन्छु
आकाश आकाशबीच चम्किरहन्छु
म र मबीच दुन्दुभि चलिरहन्छ
विरोधाभासको सम्बन्धबीच
दिन र रातबीच
सत्य र असत्यबीच
घात प्रतिघातबीच
म र मप्रति कटाक्ष युद्ध
रातभर छट्पटिरहन्छु
निर्दो लाई सम्हाल्ने प्रतिबद्धतामा
सूदर्शन चक्र
हेरिरहन्छु
आफैँबीच
मनको कुरुक्षेत्रमा चलिरहन्छ युद्ध
कौरब पाण्डव भनेर
मात्र साक्षि स्वरुप
कहिले म मर्छु
कहिले मैले मार्छु
स्वत्तर ढालेर कुरुक्षेत्र
तर,
कयौं युग बिते
हरेक युगमा
न म मरे
न मैले मारे
हरेक पल छाया स्वरुप
कृष्णको चक्र चलिरहन्छ
नपत्याए
सोध घाम र जुनलाई
सोध बर्बरिकलाई
साक्षी बनेर हेरिरहेछ
अजर अमर बनेर ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
