सडिरहेछ
मन्दिरको प्राङ्गणमा
ईश्वरलालको लास
ऊ गुनासो गर्थ्यो
मन्दिरभित्रको ईश्वर
यो धरतीमा
राजा भएर आए
सेनापति भएर आए
न्यायाधीश भएर आए ।
आएनन् कहिले
एउटा मजदुर भएर

ऊ बनाउँथ्यो
साँचोमा ढालेर
फरक फरकका ईश्वर
उसलाई थाहा थियो
ईश्वर बन्नु भन्दा कयौं गुणा कठिन छ
मजदुर बन्न
उसलाई थाहा थियोे
उसको पसिनाले मात्र
जलाउन सक्छ
उसको चुल्हो
मेटाउन सक्छ
भोक
उसको हातपाउ नै
हो उसको इश्वर

एक दिन उसले बचायो
गाडीले ठक्कर दिएर
घाइते भएको मानिसलाई
एकदिन उसले जोगायो
एउटी अबलाको लुटिन लागेको
अस्मिता

जब
आज उसको मृत्यु भयो
न अखबारको ब्रेकिङ्ग न्युज बन्यो
न भड्कियो दङ्गाफसाद
न बज्यो शोकधून
न गुञ्जियो जयकारको नारा
आखिर मृत्यु भएको थियोे
साधारण मजदुर ईश्वरलालको
थिएन तथाकथित इश्वरको ।

राममणि सिटौला