
प्रदीप योङहाङ
को हुन् रामलालहरू ?
मेरो देशले चिन्दैन ।
कस्ता छन् रामलालहरू ?
मेरो देशलाई थाहा छैन् ।
देशबाट रामलालहरू बेखबर भए जस्तै
देशपनि रामलालहरूबाट बेखबर छ भन्ने आरोप छ ।
उनीहरू लगाउँछन् सेतो धोती र कमिज
र राष्ट्रिय पोशाक अस्वीकार गरेको आरोप छ ।
उनीहरू बोल्छन् आफ्नै भाषा “मैथिली“
र राष्ट्र भाषा अस्वीकार गरेको आरोप छ ।
उफ्रदैनन् सडकमा र बाल्दैनन् टायर
लगाउँदैनन् जिन्दवाद र मुर्दवादको नारा
सायद थाहा छैन् रामलालहरूलाई,
हाम्रो राष्ट्रवाद ।
उनीहरू देश जन्मिए देखि,
चुपचाप चुपचाप जङ्गेपिलर रुँगेर बसिरहेका छन्
बदलामा मेरो देशले
अराष्ट्रिय,अनागरिक उपाधिहरू वषौँ देखि दिइरहेछ ।
उनीहरू रामलालहरू हुन्
जसलाई न देश ले चिन्छ
जसलाई न देशवासीहरूले चिन्छन् ।
उनीहरूलाई चिन्छन् भने
सिमाना मिच्ने दुश्मनका पाइलाहरूले चिन्छन् ।
उनीहरूलाई चिन्छन् भने
दुश्मनहरूले देश तिर फर्काएर पड्काएको
बन्दुकबाट निस्किने गोलीहरूले चिन्छन् ।
जबजब
देशभित्रको सडकमा उर्लिन्छ
ढोङ्गी राष्ट्रवाद र ढोङ्गी राष्ट्रियताको भेल
त्यतिबेला
रामलालहरू कोणसभाहरूमा शब्दहरूले चुटिन्छन
व्यवहारहरूले जिउँदै जलाइन्छन् ।
तर पनि यो कुरा रामलालहरूलाई थाहै छैन्
किनकी जङ्गेपिलर छोडि सडकमा उत्रिएर
राष्ट्रवादी बन्ने उनीहरूलाई फुर्सदै छैन् ।
को हुन् रामलालहरू ?
मेरो देशले चिन्दैन ।
फेरि रामलालहरू पनि उस्तै छन्
जो सिमानाको जङ्गेपिलर बाहेक अरूलाई चिन्दैनन् ।
सायद रामलालहरूले बुझेका छन्
जङ्गेपिलर छ त देश छ
नत्र सडकमा मात्रैको राष्ट्रवाद केलाई ?
को हुन् रामलालहरू ?
मेरो देशले अझै चिन्दैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

