साथी …
तिम्रो देश दुख्दा
मेरो मन दुखेको हुन्छ
मेरो देश दुख्दा
म आफैँ दुखेको हुन्छु ।
एउटै मानव आमाका सन्तान भए पनि
सिमाना फरक हुँदा
देश अलग हुँदो होला
देशसँग जोडिएकाे
हाम्रो भाग्य पनि फरक हुँदो होला
हाम्रो भाग्यले दिएको
हाम्रो आस्था फरक होला
हाम्रो आस्थाले दिएको
हाम्रो संस्कृति फरक होला
तर साथी
हामीले टेकेको धर्ती त एउटै हो
हामीले ओडेको आकास एउटै हो
हामीले फेरेको सास पनि एउटै हो
हामी बाँचिरहेको युग एउटै हो
एक पटक तिमी …. तिम्रो इतिहाससँग
भलाकुसारी गरी हेर त ….
कतै तिम्रो वर्तमान मेरो अतितसँग
जोडिएको पाउन सक्छौ
तिम्रो भविष्य मेरो वर्तमानसँग
गाँसिएको पाउन सक्छौ
जे होस् … अन्तमा तिमीले
तिमी र ममा कुनै अन्तर पाउने छैनौ ।
त्यसैले साथी …
तिम्ले तिम्रो देश बनाउँदा
मेरो भाग्य नफुटाई बनाउनु
मैले मेरो देश बनाउँदा
तिम्रो मन नदुखाई बनाउने छु



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
