सुशील नेपाल

पदको नशा, पैसाको नशा
वैवभको नशा
पो नशा
ऐ बोतल तेरो नशा के नशा ?
नमस्ते नफर्काउनुको नशा
ढोका खोल्न लगाउनुको नशा
तपाईंबाट उक्लेर हजुरमा पुग्नुको नशा
पो नशा !
ए बोतल, तेरो नशा के नशा ?
श्रीमतीलाई भन्न लाउनु रानी साहेब
छोरी मै साहेब, छोरा बाबु साहेब
अर्दलीलाई भाडा धस्न लगाउनु
जुत्ता टल्काउन लगाउनु
बक्सियोस् भन्न कर लगाउनुको
नशा पो नशा !
ए बोतल, तेरो नशा के नशा ?
दाजुभाइ अझै उस्तै छन्
आफ्नो हैसियत हल्लक बढ्यो
सबैले कुरा बुझ्याछन्
चुइँक्क कोही बोल्दैनन्
मदको यस्तो नशा पो नशा !
ए बोतल, तेरो नशा के नशा ?
गीत गाइन्छ, पसीना तरर
र फरर
उता डिङ हाँकिन्छ र भनिन्छ,
मेरो सरकार
त्यो नशा पो नशा !
ऐ बोतल तेरो नशा के नशा ?
छिमेकीको बिल्लीबाँठ छ
गाउँका गाउँ अभाव रोग र भोकले ग्रस्त छ
आफू पुगिन्छ गाउँ र कारिन्दालाई भनिन्छ
“टिप्नोस् उहाँहरूको गुनासो,”
नसाहरू मरेका छन्, संज्ञाशून्य छ चेतना
त्यस्ले जन्माएको नशा पो नशा !
ए बोतल, तेरो नशा के नशा ?

राजमित्र प्राङ्गण
माल्डेन, बोस्टन
अमेरिका