जयबहादुर हितान

बैनी- धेरैमा दिनको विदेसै बसी चिट्ठी त आएन
कि मरी गए कि जङ्गल पसे कि लेख्न पाएन
धेरै दिनपछि पत्र है लेखेँ दाजीको नामैमा
यो पत्र पाई जवाफ दिए जन्मेको ठामैमा
मान्यवर दाजी आरामै होला दण्डवत् तिमीलाई
खबर नपाई धेरै दिन गयो पीर छ हामीलाई
देश यो हाम्रो शिखरमा चड्ला बढाउने पण्चै छ
मनभित्र मेरो कस्तो छ कस्तो शरीरलाई सञ्चै छ
वर्षा है परी अनाजै भयो राशन झन् सस्तो छ
यताको खबर असलै मान्छु त्यताको कस्तो छ
दिन पनि मलाई मैन्हादिन लाग्छ नपाई खबर
कस्तोमा मन भो तिम्रो आज कि पारौं जब्वर
स्वप्नमा मैले संसार देख्छु तिमीलाई देख्दिनँ
तिम्रोमा पत्र पाएपछि मात्रै लेख्छु अब त लेख्दिनँ
गाउँको ठाम टाढा छ बाटो हुलाक जानलाई
चिट्ठी त मैले लेखे है ढिलो पठाउन त्यहाँ लै
कस्तो छ त्यहाँ भनेर याहाँ मन हुन्छ दुविधा
तिमीले पत्र लेखेनौ किन त्यहाँ होला सुविधा
मेरो मन हजुर असाद्धै रुन्छ तिम्रो मन साह्रो छ
पत्रको जवाफ नदिएपछि भेटन गाह्रो छ
प्राथना मेरो भग्वानलाई छ नि नगराऊ भिन्न नि
दाजु र बैनी मिलेर बस्न दैवले दिन्न नि
चिट्ठीको मर्म कस्तो पो लेखेँ राम्ररी देखे है
यो पत्रबाट बिदामा हुन्छु जवाफ लेखे है !

००००००

जयबहादुर हितान

चम्कने तारा पारेको यहाँ आँसुको धाराले
के गर्‍यो त्यहाँ कि मर्‍यो त्यहाँ भन्दछन् साराले
०००००००

दाजु- त्याँबाट आई जङलै पसेँ लडाईंमा लड्न नि
बैनीको पत्र पाएँ है मैले धेरैमा दिनपछि
दुई पाउ धसेँ, जङ्गलै पसेँ लेखन पाइनँ
आशा है गरेँ तिम्रो पत्र पहिले त आइन
गोठाला दाइले घाँस है काट्यो खोलीको कैन नि
ए मेरी बैनी तिम्रो कृपा मरेको छैन नि
मनमा मेरो लाग्दछ गोली घोच्दछ झिरैले
रातभरि छटपट गर्छु बैनीको पीरैले
वैरीलाई जिती छाउनी फर्क्यौं बिरामी भएर
केही महिनापछि आउँदैछु यो शरीर जिएर
बैनी तिम्रो कृपाले गर्दा बहादुरी पाएछु
हाँसीमा हाँसी बिदामा दियौ साइतमा आएछु
जस्तो मन तिम्रो उस्तै हो मेरो पर्छ है दुविधा
धरतिमै पस्नु नखाई बस्नु छैन केही सुविधा
मरीमा गए के स्वर्ग जाउँला कि नर्क धाउनेछु
बाँचीमा गए त्यै बाटो फेरि फर्केर आउनेछु
गड्याङ र गुडुङ् गरदै झर्‍यो त्यो खोला खहरे
कृपाले गर्दा अवस्य जिउँछु पीर त नगरे
तिम्रो मेरो दु:ख छ कस्तो भगवानले देखेछन्
जिन्दगीभरि दुई भई बस्न भाविले लखेछन्
झ्याँक्रा ल्याएँ सिमीको झाललाई असल डाम्रै भो
कि स्वप्न तिम्ले असलै देख्छ्यौ नदेखे राम्रै भो
सरासर मत लडाईंमा गएँ अनि त बिरामी
दुई हात धसी यो पत्र लेखेँ राखेर सिरानी
तिम्रो पत्र पाएर मैले यो मनलाई घोच्यो है
मिलिटरीको नियम असाधै कडा तिमीले सोचे है
शरीरमा काँडा कता छ कता खोजेर भेटिन्न
त्यो कडा नियम नगरेपछि लडाईं जितिन्न
वैरीलाई हामी भगाई आयौँ अहिले त छैन नि
हस्पिटल बसी औषधी गर्छु केही दिनमा आउँछु नि
कसरी पाल्ने कसरी टाल्ने झन् दु:ख राजालाई
भेटमा बिस्तार गरौँला बैनी बिदा देऊ आजलाई ।

(स्व. जयबहादुर हितान (१७ जुलाई १९४९- ११ डिसेम्वर २००९) निजामती कर्मचारी, नेपाली कांग्रेसका नेता, समाजसेवी, तथा साहित्यकार हुनुहुन्थ्यो । उहाँकै आत्मकथा- जय बहादुर हितान मगरः व्यक्तित्व र कृतित्वबाट यो लघुकाव्य साभार गरिएको हो ।)