लखतरान शरीर र थकित मन
अनिश्चित भोलिको सूर्योदय कल्पना
मनभरी बोकेर महिनौंदेखि
राप र ताप ले बोकाएका भारीहरू
सडक नापी नापी पाइलापाइलामा
डुब्दै गरेको झंम्के साँझ
काखी च्याप्दै
डेरा फर्किरहेको एक मनुवा
म एक चिकित्सक ।

चकमन्न सहरमा हराएको मानवता
कसले भेट्ला र हिजोआज !
खोज्दा खोज्दा थकित
शून्य सडकले पाइरहेछ
ऊ जस्तै एउटा रित्तो जीवन
दिनभरको थकाइको परिमाण
पदचापसँग साटेर
डेरा फर्किरहेको एक मनुवा
म एक चिकित्सक ।

तगाराहरू बग्रेल्ती छन् बाटैभरी
हेपाइका पीडा अनगिन्ती छन् मनैभरी
तापनि सेवा भावको कुम्लो बोकेर
दिनभरको थकान भुल्न
डेरा फर्कीरहेको एक मनुवा
म एक चिकित्सक ।

जनलाई जीवाणुबाट जोगाउने प्रण
मनले गरेर
सहकर्मीसंग हातेमालो गर्दै
कठोर ड्युटी पश्चात्
केही घण्टाको विश्रामको अपेक्षामा
डेरा फर्किरहेको एक मनुवा
म एक चिकित्सक ।

अतितका नमस्कारहरू दुनियाँका
सम्मानहरू हुने खानेहरू समेतका
कमाइहरू मन र धनका
सम्झँदै, कल्पदै
महामारीको बिषमतामा
त्राहिमा म अस्पतालको ड्युटिपश्चात्
लख्रक लख्रक
डेरा फर्किरहेको एक मनुवा
म एक चिकित्सक ।

गल्लीगल्लीमा परिचय माग्दै
स्वनीर्णयको अधिकार प्रयोग गर्दैछ
अपरिचित समाजसेवी
खल्तीमा कोचेर मेरो मानवअधिकार
खानतलासी लिइरहेछ छ मेरो
ओल्टाइपल्टाइ मेरा जीविका काटुलहरू
स्टेथोस्कोपर म्यनोमीटरको
जाँच गर्दैछ
हैरानीको पहाड बोकेर
अरूको जीवन बँचाउने इच्छाशक्ति
पुनर्जीवित गर्न भोलिका लागि
थकित शरीर घिसार्नुमा
आफ्नो जीवन खोज्दैखोज्दै
डेरा फर्किरहेको एक मनुवा
म एक चिकित्सक ।

एक मिटर टाढा बस्ने
मेरा आग्रह सुन्नु अघावै
दश मिटर टाढा भाग्नुमा
आफूलाई सुरक्षित ठान्दैछ छिमेकी
त्यसैले
निर्दोष सावित गर्न आफैँ
आगोमा होमिएकी जानकीझैँ
केमिकल नुहाइ पश्चात्
प्रवेश गर्न आतुर घरबेटीको ढोकाबाट
बिना निम्तोको पाहुनाझैं
डेरा फर्किरहेको एक मनुवा
म एक चिकित्सक ।

प्रिया र लालावालालाई अँगालो हाल्दै
उम्लेको भाव पोख्ने इच्छाहरू थांँती राखेर
मेरै आगमनको प्रतिक्षामा सुक्सुकाएका
बुढा आमा बा सम्झेर भारी मनले
सम्पुर्ण मानवजातीको
कहरसंगको भोलिको लडाइँ खातिर
शक्ति बटुल्न
डेरा फर्किरहेको एक मनुवा
म एक चिकित्सक ।