अज्ञात ती भावनाहरु वर्षौँ लुकाएँ,
पर्खाइ र लुकाइको दौडमा,
ती सबै भावनालाई जमाएर चट्टान बनाए

अनि, तिमी.. तिमी
अहिले आएकी छ्यौ,
उछिट्टिएको आगो जसरी,
तर सेलाएकी

म त सम्हालिउँला,
तर,
अँगालोमा बाँधेर तिमीलाई सम्हाल्न त म कतै सक्दिनँ,
थमथमाउँला एक हातले तिम्रो कुममा,
र एक हातले आफ्नै देब्रे छातीमा

भनेकी थियौ,
म तिम्रो नाम मेरो कथाको पात्रमा प्रयोग गर्छु ल,
कथाको पात्र नभई,
पात्रको नाममा धकलिएको म,
कसरी तिमीलाई आफ्नो काहानी सुनाउन सक्थेँ ?

थाहा छैन तिमी कति बेला फुल्लिइन्छ्यौ,
कतै तिमीलाई थमथमाइरहँदा
मैले बनाएको चट्टान पग्लिने त हैन,
मेरो चट्टान पग्लिनु
र तिमी फुल्लिइनु सँगै भयो भने,
म फेरि तिम्रो कथाको पात्रको नाम हुनेछु ।

अनि तिमी.. ?