आमा तिम्रो अभावमा बाँचु कसो गरी
तिम्रै चर्चा परिचर्चा चल्यो देशै भरी
नौनौ महिना कोखमा राखी धर्ती टेकाएर
छोडी गयौ आमा किन एक्लै बनाएर
खुसी थिएँ आमा म त तिम्रै कोखमा छँदा
बाँच्ने थियौ होला तिमी मेरो जन्म नभा
प्रसव पीडा खटाएर मलाई जन्म दियौ
मैले संसार देख्न नपाई एक्लै बनाई गयौ ।
तिमी बिना मैले संसार देख्ने कसो गरी
पापी दैव लगिस् बरै मेरै खुसी खोसी
बस्थे बरू आमा म त सधैँ तिम्रै कोखमा
कसले खान देला अब अमृत मलाई भोकमा
मलाई जन्म दिई आमा किन बिदा भयौ ?ं
तिमी जाँदा मेरो खुसी आफैसँग लग्यौ
मेरो पीडा बुझिदिने यहाँ ईश्वर पनि हैन
तिम्रै साथमा लैजाउ आमा बाँच्न मन छैन
रुन्छु आमा तिम्लाई सम्झी किन आउँदिनौ र
मेरो ओठ सुक्न लागे अमृत पिलाउँदिनौ र
तिम्रै छाती चुस्न मन छ तिम्रै काखमा रम्न
अब मेरो पीडा बुझने को हुन्छ यहाँ भन
निन्द्राबाट ब्युझि हेर्दा भेटाउँदिन कतै नि
खोजिराछु आमा तिम्लाई छौ कि कतै भनी
कता गयौ मेरी आमा मलाई एक्लै छोडी
संसार नै रित्तो भयो अब मेरो लागि
छटपटाउँदै आमा खोज्दा तिम्रो मन रोला
मर्छु आमा क्वारेन्टाइनमा कसले छुन्छ होला
मेरो बिन्ती आमा तिमी फर्की आइदेउन
एकै पटक भए पनि अमृत पिलाइदेउन
तिम्रो छाती चर्किएर झर्ने दूध रोकियो
जुन सपना देख्यौ आमा त्यो नै सकियो ।
तिम्लाई लाको रोग मलाई किन देखिएन
त्यै कारणले आमा तिम्लाई भेट्न सकिएन ।
तिम्रो रगत यो शरिरमा तातो बनी बग्छ
आमा तिम्ले दिने माया कसले दिन सक्छ ।
न त आमा नाम राखेर धागो बाँध्न पायौ
जन्मिदा नै अभागीलाई टुहुरो बनाई गयौ।
मेरो पीडा बुझिदिने आमा तिमी नै हौ एक
मलाई छोडी कुन संसारमा बिलाएकी छौ त ।
आमा भन्दा ठूलो यहाँ कोही हुँदैन भन्थे
जाम हिँडसँगै भनेको भा तिमीसँगै जान्थे
खोज्दा खोज्दै थाकिसके छैनौ कही पनि
लैजाऊ आमा तिम्रैसाथमा तिमी जहाँ भए नि ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

