उसले तिमीलाई किनेर शक्तिमा पुगेको छ
त्यसैले उसले तिमीलाई प्रयोग गरिरहन्छ।
तिमीले कहिले पनि आत्मनिर्भर हुने प्रयास नै गरेनौ
त्यसैले उसले तिमीलाई प्रयोग गरिरहन्छ।
प्रक्रिया विपरीत तिमी आफ्नो या आफन्तको सरुवा या बढुवा गर्न निर्लज्ज उसको पछि लागिरह्यौ
लाज पचाएर तिमी छोटो बाटोबाट धनी हुने
उपायको लागि तल्लिन रह्यौ
त्यसैले उसले तिमीलाई प्रयोग गरिरहन्छ।
कैले मजदुर दिवसको नाममा कैले भूकम्प राहत,
कैले कोरोना राहत विविध निहुँमा डसी रहन्छ
यद्यपि, तिमी निसन्देह उसकै अघिपछि घुमिरहन्छौ
त्यसैले त उसले तिमीलाई प्रयोग गरिरहन्छ।

देशभित्र भए पनि बाहिर भए पनि खान पाए पनि नपाए पनि
सकी-नसकी तिमीले उसलाई चन्दा या विविध रुपले,
सहयोग गरिरहन्छौ अनि ऊ तिम्रै पसिनाको कमाइमा
मोजमस्ती गरिरहन्छ
तर पनि तिमी केही बोल्दैनौ, जसले उसलाई तिम्रो मौन समर्थन मिलिरहन्छ
त्यसैले त उसले तिमीलाई प्रयोग गरिरहन्छ।
एउटा छिमेकीले पालैपालो राष्ट्रको अस्मिता लुटिरहन्छ,
अर्को छिमेकीका नागरिक सुरक्षाको संवेदनशील ठाउँमा
खुलेआम सुरक्षाकर्मीमाथि निर्भिक जाइलाग्छन्
तर पनि तिमी केही बोल्दैनौ, त्यसैले त
सांसारिक महामारीमा पनि उसले तिम्रो जीवनसँग खेलबाड गरिरहन्छ
अब यस्तै हो भने ऊ अघिल्लो दिन सुतेर
भोलिपल्ट उठ्दा उसको भूमि नै परिवर्तन नहोला भन्न सकिन्न,
त्यै पनि उसलाई केही फरक पर्ने छैन,
किनकि उसको प्राथमिकतामा राष्ट्रियता जनताको मर्म,
राष्ट्रिय हित भन्दा सत्ताको स्वार्थ विशेषतः छ।
तिम्रो मौनता र स्वार्थमाथि बुई चढेर उसले विस्तारै देश बेच्दै छ
भयो ! अब त अति भयो!!
तिमी अब निर्भिक बन
आत्मविश्वासी बन र उसको हरेक गलत गतिविधिमा डटेर
उसलाई परास्त गरी आफ्नो राष्ट्र र राष्ट्रियता जोगाउन अघि सर।
तिमी नेपाली हौ भनेर एक मन मुटु भएर सोच
अनि तिमी पर निर्भर हैन, आत्मनिर्भर बन, आत्म निर्भर बन ।