चार्ल्स रिभर टक्क रोकिएको छ
मानौॅ कसैलाई पर्खिरहेको छ
यताउता नजर दौडाएर
सायद कसैलाई खोजिरहेछ
उसको वरिपरि घुम्ने ती कुइनेटाहरू
आज खालीखाली उदाङ्ग देखिएका छन्
उसलाई ढाडस् दिन चारैकाल
कुदिरहने भरिभराऊ स्टोरो ड्राइभ
नाङ्गो देखिएको छ
मानौॅ लम्पसार नग्न शरीरजस्तै
ऊ दङ्ग पर्छ
भन्न सक्दैन यहाॅ के भइरहेछ
ऊ आजकल खालीखाली महसुस् गर्छ
कस्तो कस्तो खल्लो खल्लो !
ऊ टक्क रोकिएको छ र
सम्झिरहेको छ
ती सुन्दर स्वर्ण षोडशीहरू
ती अर्धनग्न सुन्दरीहरू
जो ऊसङ्गै जलक्रिडा गर्थे
ऊ विलक्षण काउकुतीले अत्तालिन्थ्याे
अनि उत्तेजित हुन्थ्यो
सम्झने प्रयास गर्छ
त्यो रोमाञ्चक क्षण
आहा! कति सुन्दर हुन्थे
ती पलहरू हिजोका
कैले आउलान् फिर्ता?
ऊ निसासिन्छ, अत्तालिन्छ
माथि आकाशमा सूर्य छ
जुनेलीमा जून पनि छ
तर व्यर्थ कस्का लागि?
कोही त छैन यहाॅ
निरास देखिन्छन् ती पनि आजभोलि
खै कता गए ती ऊमाथि खेल्ने
रमाउने मान्छे
ऊमाथि धुइरिने ती मानवहरू?
मानौँ कतै बलियो हुरीबतासले
लग्यो तिनलाई कहिलै नफर्कने गरी
पारि क्याम्ब्रिज सहर
सहरको छातीमाथि उभिएका ती
गगनचुम्बी भवनहरू पनि
थकित, निरास र भयभित देखिएका छन्
खै त्यो चहलपहल
ऊ छक्क पर्छ
हार्भर्ड वरिपरि मुसुक्क हाॅसेर
सबैलाई स्वागत गर्ने क्याफेहरू खै ?
कता गए ती उच्च शिक्षाको खोजीमा
हिँड्ने यात्रीहरू ?
एमआइटीमा बसेर गणितका सूत्र कोर्ने
ओहोर दोहोरगर्नेहरू कता गए?
चाल्स सम्झिने प्रयास गर्छ
ती आफ्नो वरिपरि
कथाको खोजीमा हिॅड्ने यसएलआर
क्यामराहरू खै?
के तिनीहरूले खोजेको कथा भेटियो त ?
कता गए ती सेल्फी किङ्गहरू
जो ऊसङ्ग सेल्फी खिचेर थाक्दैनथे
बस्टन सहरभरि कुद्ने त्यो
कमनवेल्थ एभेन्यु पनि टक्क रोकिएको छ
यात्रा टक्क छ उस्को ।
एक्ले घाइते ह्येला झैँ लडेर
मात्र बिलौना गरिरहेछ
मानौॅ कसैलाई डाकिरहेछ
त्यो चहल पहल बोकेर
लहरे पिङ्झैँ
मच्चिइरहने बलियो यात्री
आज डङ्ग रित्तै लम्पसार छ
चार्ल्स रिभर आशाको र
प्रश्नहरूको नजर
एटलान्टिक एभन्युतिर फ्याल्छ
एटलान्टिक आफैँ जिल्ल छ
कुनै भयभित शून्यताको रहस्य
केलाइरहेछ
आफ्नो छेउमा चमचमाई रहने
बस्टन हारबरलाई हेर्छ
निस्तब्ध छ।
मानौँ उस्ले एटलान्टिक समुन्द्रमा
आत्मदाह गरिसक्यो
फर्केर नआउने गरि !
चार्ल्स एक्लो महसुस गर्छ
उस्ले कतै देख्दैन ती
गोधुली साॅझमा
आफूमा तैरिन आउने
प्रूडेन्सियल र जोन हेन्ककहरू
आफ्नो छेवैमा बसेर लाजै नमानी
ओठमा ओठ जोडेर
तातो यौन भावना बाँड्ने
जोडीहरू
ऊ चलबलाउने मन गर्दैन
मानौॅ कसैलाई पर्खिरहेछ ऊ
उतिनै खेर एक हुल मान्छेहरू
लखेटिएका हुन्छन्
कुनै ठूलो अदृश्य त्रासले
उनीहरूको पछिपछि दौडिरहेको छ
एउटा अदृश्य किरो “कोरोना”।
बस्टन, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
