म मेरो छिमेकीलाई औधि माया गर्थें
ऊ पनि म भनेसि हुरुक्कै हुन्थ्यो
छोरीको गोडा धुवाइमा होस्
या नारायणको पूजामा
मसँगै कुम मिलाएर हिँड्थ्यो
खै म बद्लिएँ या उस्को स्वभाव फेरियो
हरेक सालको मझधारमा
केही वर्ष यता हामीबीच
केही कुरा भएको छैन
कुरा सुनिन्छ केवल रामे श्यामे वा हरिका मुखहरुबाट
केही समय पहिले कमलरी प्रथाको
एउटा लामो युग काटेर
आस्ताइसकेको सूर्यझैँ निरीह मेरो आडैमा आएको
छिमेकी
मेरै कुवामा नुहाउँदै कति चाँडै शीतलाई चमक दिने भएछ अचम्ममा छु
आज भोलि त उस्को ख्याउटे शरीर
खाइलाग्दो भएको छ
कति ठाउँमा मैलाई नै पेल्छु भन्दै हिँड्छ रे
खास्सै दुश्मनी नै हैन
अझै पनि रोटीबेटी चलेकै छ
तर पनि बर्खा
धान लगाउँदा उस्ले एक हात आलि तासेको थियो
म चुप रहेँ
अर्को मसान्त मकै लगाउँदा
हलोको सियोले आलीमाथि नै छेड पार्यो
अँहँ, केही बोलिनँ
आज केही लामो समयपछि उठेँ म
शरीर आफ्नै थियो
आड लाग्ने खामो हराएछ
यस विषयमा
कुरा गर्न हजारौं पटक
हामी भेटिरह्यौँ
ऊ मेरा परिवारलाई भेटी थमाई
हिडिरह्यो
आज पनि ऊ मेरो कुरा सुनिरहन्छ
निरन्तर सुनिरहन्छ
कथं कदाचित बोलिहाल्यो भने
ऊ मेरो बारीको इतिहास कोट्याउँछ
मैले उसलाई भोक मेटाउन दिएका केही मुरी
धानको कुरा गर्छ
उस्को बारीमा सापटी लागेको खेतालाको कुरा गर्छ
अनि खिसिक्क हाँसी सत्यतामा झूट बिकाउँछ
त्यसैलै मलाई मेरो छिमेको औधि मन पर्छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

