पदम विश्वकर्मा
युद्धमा होमिएको छु म यति बेला
युद्धमै होमिएको छ देश
निमुखाहरू छन्, युद्धमै होमिएका

पदम विश्वकर्मा
शीत युद्ध चलिरहेछ
तर तिमी
गल्तीहरू लुकाएर
उक्साइरहेछौ— अझै भेदभाव गर्न
उद्धत छौ— ढाकछोप गर्न
प्रपञ्च रचिरहेछौ— घटनाहरू सिर्जना गर्न
ढाडस दिइरहेछ— सामन्तीप्रथा जीवन्त राख्न
जातिप्रथा बचाइराख्न र भेदभाव जारी राख्न ।
तिमी,
प्रगतिको उकालो चढ्दै गयौ— मलाई बोक्न लगाएर
धनाढ्य बन्दै गयौ— मलाई गरिब बनाएर
सत्तामा पुग्यौ— मलाई बन्दुक थमाएर ।
नबिर्सनु तिमी
राष्ट्रिय एकीकरणमा— मेरो साथ
प्रजातान्त्रिक आन्दोलनमा– छ मेरो योगदान
बहुदलीय आन्दोलनमा— मेरो समर्पण
जनयुद्धमा— मेरो बलिदानी ।
र नबिर्स,
हाम्रो दुखाइ— पशुजस्तै निरीह जिउनुको पीडा
हाम्रो भोगाइ— जाँतोमा पिसिएका घुनजस्तै पिसिनुको पीडा
हाम्रो रुवाइ— थिचोमिचोको पहाडले थिचिनुको पीडा ।
यो पनि नबिर्सनु तिमी
तिम्रा बारीमा पसिना चुहाउँदै बिलाएका— हर्केहरूलाई
तिम्रा शरीर ढाक्न जीवन सिलाएका— कालेहरूलाई
तिम्रा पाइताला नबिझाउन जुत्ता बुनेका— बिर्खेहरूलाई
युद्धमा उठाएका बन्दुक बनाउने— वीरेहरूलाई
तिम्रै खेत–कान्लामा पसिना चुहाउँदै गरेकी
न्याउरीहरूलाई ।
सह्यौँ हामीले
युगौँयुगदेखिका— अन्याय र पीडाहरू
युगौँयुगदेखिका— अत्यचारका पहाडहरू
युगौँयुगदेखिका— थिचोमिचोका बाछिटाहरू
युगौँयुगदेखिका— शोषणका भड्खालाहरू ।
अब त अति भो
सहनुको पनि हुन्छ, सीमा
सहनुको पनि हुन्छ, समय
र हुन्छ अर्थ पनि सहनुको ।
त्यसैले यति बेला
युद्धमा होमिएको छु म
युद्धमै होमिएको छ देश ।
भेरीमा बगेको रगतको पानी
भोलि बग्न सक्छ, कर्णालीमा
बग्न सक्छ, गण्डकी र कोसीमा पनि
देशभर रक्तपात हुनसक्छ ।
अन्याय, अत्याचार, थिचोमिचो र शोषणका
पर्खाल नतोडिएसम्म
छुवाछूत र भेदभावका रेखाहरू नमेटिएसम्म
निरन्तर निरन्तर चलिरहने छ— युद्ध ।
कोलोराडो, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

