तिम्रो मर्म बुझ्न नसकी जीवनमा कति गल्ती गरे हुँ
पाउन नसकी आभास पथमा हिँड्दा कति डरे हुँ
असहाय निरुपाय भै तृण समान बाटोमुनि झरे हुँ
बुझ्न नसकी धर्म आफ्नो जाल-जन्जालमा परे हुँ ।

मृत्युको पर्खाइ मात्र जीवन भए बाँचेर के गर्नु खै
आँशुको भेलले बगी जाने सपना साँचेर के गर्नु खै
न होश छ मनमा न जोश तनमा, नजरमा दोष छ
छ टेकेको रातले छातिमा जानू धेरै कोश छ ।

खोजूँ भन्छु रहस्य जीवनको डटि, कसि कम्मर
काँचै छु कि ? पाकेन अनुभव हार्दछु म समर
सतही भै डुल्ने, बग्ने हावामा जीवन लक्ष्य भुलेर
छु, डुब्न डराउने गहिराइमा स्वभाव सारा भुलेर ।

मुक्ति भनी खोजेको छैन प्रीति पाउँ भन्दछु
शक्ति भनी खोजेको छैन, भक्ति पाउँ भन्दछु
विरक्ति उठाउँदिन भगौडा भै जङ्गल चहार्दिन
अनुरक्ति जगाउँछु सर्वमा विभेद म स्वीकार्दिन ।