म सास समातेर

नित्यार्धना गरिरहेको छु
श्रद्धा पूर्ण शीर निहुराएर ।
केही थान सेता तुल छन्
केही थान पहेँला वस्त्र छन् ।
नगन्य नीलरंगी धर्साहरु
फर्फराइरहेका छन ।
 हतार छ
कोही कसैको मतलब
नराखी दौडिरहेका छन ।
आफ्नाको हकदाबी
चलिरहेको छ ।
शीरदेखि पाउसम्म
निहुरिएको लाचारपना
रातो अबिरले सपनामा
रङ भरिरहेको छ ।
अपमानित आश्रय मीठो
हाँसोले खिल्ली उडाउँदै
प्रशंसा गरिरहेको छ ।
मेरो हिम्मत हो
जो म अझै जिउँदो छु ।
वा, भागवान तिम्रो विभाजनको
सीमा निर्धारण गर्ने
महामानवलाई के भनूँ ?
र तिमीलाई के भनूँ ?
एक युगको अन्त्यसँगै
एक युगको सुरुवात, खै ?
कुन नामले गर्नु हो तिम्रो पुकार ?
तिम्रो र तिम्राको उल्झनले
 उत्पन्न यो
प्राण सङ्घारक
विनाशकारी
बखत अन्त्यको आस गरिरहेको छु ।