जुनबेला तपाईं
खोलाको पानीले जस्तै
समुद्र खोज्दै हुनुहुन्थ्यो
हामीले तपाईंलाई बीचैबाट
बाफलाई जस्तै उडाउँदै
बादलभित्र लुकाउँदै लुकाउँदै
हिउँजस्तै कञ्चन बनाउँदै बनाउँदै
हिमालका टाकुराहरुमा राख्दै गयौं
बिहानी सूर्यको किरणको स्पर्शसँगै
चम्कनु पर्ने तपाईंको छवि
दिनको घामको तापले
तपाईंलाई आकर्षण गरिरह्यो र
तपाईं पग्लिरहनु भएकै हो
फेरि पनि
आफ्नै देशको अग्लो हिमाल
सगरमाथाको टाकुरामा नै लगेर बिसायौं,
र सोच्यौँ
तपाईं सगरमाथाको शीरबाट
हिमालदेखि मधेससम्मका भू-भाग हेर्दै
हल्काफुल्का क्रान्तिकारी हिउँका डल्लाहरु
पग्लेका र चिप्लिएका हेरिरहनु हुनेछ
रातो गुराँसझैँ
तपाईंको शीरको नैतिक ताज
अन्धकार रातमा पनि उत्तिकै चम्किरहेको हुनेछ, र
हामी आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरु
तपाईंलाई माथि माथि अझै माथि
सगरमाथाको शीरमा
रातो चम्किरहेको गुराँसको रुपमा हेरिरहने छौं, र
संभवत शताब्दीकै
यौटा इतिहास शीरमा बोकेर
सगरमाथा
गर्वले छाति फुलाइरहेको हुनेछ, र
नैतिक बल जगेर्ना गर्न सकेका
विश्वका आरोहीहरु
अनन्तकालसम्म लामबद्ध भएर
सगरमाथाको उचाईंसम्म पुगेर
नैतिक साहसको परिचय दिनेछन्,
तपाईंको रातो र गर्विलो चम्काईलाई
न्यायो चुम्बन गर्नेछन्, र
धर्तिको फूलबारीमा
तपाईंको शालिन समाजवाद
तपाईंको अटल विचार, र
उद्देश्यप्रतिको तपाईंको प्रतिवद्धताको
अमर गीत
किसान र श्रमिकहरु
दिनभरिको कामपछि
आफ्नो थकाई बिर्सन
गाइरहने छन्
निरन्तर गाइरहने छन्…
तर कविजी
के भयो तपाईंलाई
त्यत्ति घामको तातोमा
फेरि तपाईं पग्लिसक्नु भएछ
फेरि तपाईं गलिसक्नु भएछ
मैले त तपाईंलाई
फोहोर पानीको
सानो कुण्डमा
जमिरहेको पो देखेँ
खोलाको पानी
वाफ जस्तै उड्दै उड्दै
बादलसँगको यात्रा
हिमालका टाकुराहरुको हिउँ
बारम्बारको स्खलन र
सगरमाथाको शीरको ताज हुँदै
पुनः स्खलन, र
सानो कुण्डमा जमेको पानी
कविजी
तपाईंलाई बोक्दाबोक्दा
अब हामी थाकिसकेका छौँ
हामीले प्रत्येक पटक तपाईंलाई सुम्पिएको
नैतिकताको यौटा सानो पोको थियो
कविजी खै! त त्यो विश्वास ?
कविजी खै! त त्यो नैतिकता ??
***
काठमाडौँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

