मलाई मेरो मनले सधैँ, यही भन्ने गर्छ –
‘ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।।

देश भन्नु भूगोल मात्रै, हैन भावना हाे,
हिमाल, पहाड, तराई सबै, हाम्रै आँगन हाे ।
मेची-काली हाम्राे नशा, भित्र बग्नुपर्छ,
ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।।

जातजाति, भाषाभेष, संस्कृति र धर्म,
पहिचान हाे हाम्रो देशको, एकताको मर्म ।
परिआए देशका लागि, प्राणै त्याग्नुपर्छ,
ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।।

मठ-मन्दिर, गुम्वा-चैत्य, मस्जिद, गुरुद्वारा,
द्वेष नराख, कर्म गर, भन्छन् धर्म सारा ।
पहिला हामी नेपाली हाैं, यति बुझ्नुपर्छ,
ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।।

मलाई मेरो मनले संधै, यही भन्ने गर्छ –
‘ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ’ ।।

उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा- ७