
अस्मिता रूचाल
कसले छुट्यायो यो जात ?
कसले बनायो वर्ग ?
मान्छे भएर पनि अछूत हुनुपर्ने
अन्याय सहेर जहिल्यै रुनुपर्ने
किन ?
कहिले मन्दिर पसेको निहुँमा कुटिनु
कहिले चुलो छोएको निहुँमा जरिवाना तिर्नु
कहिले समाजमा अपहेलित हुनु
अनि अन्तरजातीय विवाह र प्रेमको लागि मारिनु
कहिलेसम्म ?
किन र आखिर कहिलेसम्म
यो असमानता, यो कुरीति
सजाय हो यो केको ?
नि कैलेसम्म हो हामीले भोग्नुपर्ने
के हामी मान्छे होइनौँ ?
के फरक छ तिमी–हामीमा ?
फेरि केको हो अहङ्कार ?
मान्छेले मान्छेलाई मान्छेजस्तो व्यवहार नगर्ने
जब तिमीहरूको अन्याय र पापले नाघ्यो पराकाष्ठा
अनि सायद,
हाम्रो अछूत हुनुको पीडाबोध गराउन
निस्केको होला कोरोनाजस्तो छुनै नहुने बिमार
यदि कसैलाई लागेको भए एकपटक सोध्नु
कस्तो हुन्छ अछूत हुँदा !
कति मन दुख्छ !
केही दिन मात्र भए पनि आफूबाट अरू टाढा हुँदा
हामीले त सहँदै आएका छौँ यो विभेद वर्षौंदेखि
कस्तो हुन्छ होला हामीलाई यो सब सहन ?
अब पुग्यो
अब साँच्चिकै जरुरी छ युद्ध हुन
मानवताका लागि
सामाजिक समानताका लागि
अनि आ–आफ्नो आत्मसम्मानका लागि
होइन भने
यो समाज हाम्रो होइनरहेछ
यो राष्ट्र होइनरहेछ हाम्रो
जसका लागि हामी लडाइँ गर्छौँ— हाम्रो भनी
अरूजस्तै आफूलाई यो देशको नागरिक सम्झेर
यही देशमा, यही समाजमा
कैले पानी छोएको निहुँमा
कैले प्रेम गरेको निहुँमा
हामी मर्नुपर्छ एउटा कुकुरसरह
किन ?
यस्तो समाजमा बस्छु म
जहाँ हामीलाई हामी हुनुको अर्थबोध यसरी महसुस गराइन्छ
के फरक छ यसरी बाँच्नु र मर्नुमा ?
यो समाज, यो राष्ट्र, यो धर्मलाई
के गौरव छ आफ्नो भन्नुमा ?
किनकि
यो सब गर्ने पनि यहीँ छन्
चुपचाप रमिता हेर्ने पनि यहीँ छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
