पढेको छ कसैले आगोको आत्मकथा ?

हो,
आगोसँग पनि छ
भीषण कथा
भीषण अनुभूति
भीषण इतिहास

आगोमा पढ्छु नैश्वरीय चेतना
पल्टाउँछु आगोका शीर्षक र चुम्बन गर्छु
(संसारमा सवभन्दा भव्य लाग्छ आगोको आत्मकथा)

हो,
आगो अमोघ अस्त्र
संसारमा
सर्वशक्तिमान छ – आगो
पल्टाउँछु आगोको प्रिय हृदय
केवल पाउँछु
हुरहुराउँदै/लपलपाउँदै बलिरहेको आगो ।

आगोका पन्ना पन्नामा
केवल सम्मोहित गर्दछन आगोका शालीन अक्षरहरु !

ईश्वरभन्दा सत्य छ आगो
पढेको छ कसैले आगोको आत्मकथा ?

अचानक
सम्झौता गर्छु आगोसँग
परिवर्तनको महा-शक्ति हो – आगो

जब बाक्लिदै जान्छ
बस्तीमा सघन अँध्यारो
म उमार्छु हत्केलामा आगोका भर्भराउँदा बिरुवा
र,
रोपिदिन्छु बस्तीका लाखौं हातहरुमा

सल्किन्छन हातहरुमा अथाह आलोक
सर्वत्र उजेलिन्छ /चमचमाउँछ – आगोको बर्णमाला

आगो !
जहाँ नीरवताले प्रार्थना गर्छ
निस्तब्धताको झुप्पाहरुमा
सल्काउँछन उज्यालोका दियोहरु

हाम्रा मस्तिष्कका
बाक्ला साँझहरुमा
हुर्काउनुपर्छ आगोका बिरुवा
जोगाउनु पर्छ आगोको सन्तान
र,
पढ्नुपर्छ आगोको आत्मकथा !

आमाहरु
अनन्त बीजारोपण गरुन् आफ्ना गर्भमा – आगो
अनि
जन्माऊन् हजारौं मायादेवीहरु
सम्यक् सम्बोधि बुद्ध

आगो जो बुद्ध जन्माउन सक्छ
आगो जो बुद्ध जलाउन सक्छ

पढेको छ कसैले आगोको आत्मकथा ?