पहिले पहिले जस्तो
यसपालिको युद्धमा
सडकभरि बख्तरबन्द गाडीहरू कुदेनन्,
आकाशभरि बमवर्षक विमानहरू पनि उडेनन्
तैपनि मृत्युको साइरन शहरभरि बजिरह्यो ।

संसारमा आफूलाई “सर्वशक्ति” ठान्नेहरूले
अरुहरूमाथि कहिले यो बहानामा
कहिले त्यो बहानामा
पालैपालो बर्साउने
रंगभेदी बम र बारुद भन्दा फरक,
कालो मन भएका शासकहरूका
वर्षौंदेखिका अन्यायका विरुद्ध
राता मान्छेहरूले मच्चाएको विद्रोहभन्दा फरक,
अल्लाह, जिसस र राम/कृष्ण आदि आदि
भगवानका नाममा हुने अमानवीय काटमार भन्दा फरक
अनि
मेरो र तेरोको नाममा
सिमानामा हुने गरेको रक्तपात भन्दा पनि निकै फरक
यो युद्ध झन् त्रासद भएको छ,
दिन दिनै झन् झन् व्यापक भएको छ ।

यसपालिको युद्धले
कालो या सेतो भनेन,
धनी या गरिब छुट्याएन,
पूर्व या पश्चिम मानेन,
यसपालिको युद्धलाई
कुनै साँध सिमानाले छेकेन,
जति गरौं, जे गरौं,
यसपालिको युद्धले
मानवनिर्मित कुनै मान्यताहरू मानेन
हिजोका सबै मानकहरू भत्काइदियो।
गरिब त हिजो पनि मरेकै थिए,
आजको युद्धलाई
न कुनै धनीमानीले छेक्न सक्यो,
न कुनै शक्तिसम्पन्न हुँ भन्नेको प्रवेश-आज्ञा र राहदानीले छेक्न सक्यो
चैतको खडेरीमा सल्केको डढेलोझैँ फैलिरह्यो,
विश्वव्यापी हुँदै
मृत्युको छायाँले आफैँलाई लपेट्दासम्म
न कसैले देख्न सक्यो ।

यो विश्वव्यापी त्रासद युद्धमा
आऊ हामी सबै मिलेर मोर्चाबन्दी गरौं,
न कसैको दम्भले जितिन्छ यो युद्ध
न कसैको सीमा स्तम्भले छेकिन्छ यो युद्ध
भो बारुद र बमको कुरा पनि नगरौँ,
धनी-गरिब, बढी या कमको कुरा पनि नगरौँ
उसले भेटे सबै सकिन्छौँ हामी
उसलाई मेटे सबै जोगिन्छौँ हामी
यसपालिको युद्धमा
पहिलेभन्दा फरक तरिकाले
सफेद मन भएका
सेता कोटधारी योद्धाहरूलाई
अघि लगाएर
उनीहरूकै आदेशअनुसार
युद्धको कासन लिउँ
उनीहरूकै आदेश अनुसारको
आसनमा बसौँ
मानवता र करुणाको हतियारले
यो कोरोना विरुद्धको युद्ध लडौँ
र विजय हासिल गरौँ।
(हाल: नर्थ क्यारोलाइना, संयुक्त राज्य अमेरिका)

यसपालिको युद्धले
कालो या सेतो भनेन,
धनी या गरिब छुट्याएन,
पूर्व या पश्चिम मानेन,
यसपालिको युद्धलाई
कुनै साँध सिमानाले छेकेन