rupa thapa

जब जब यो जगमा

भालेहरूकै दब दबा हुन्छ

तब तब सोच्ने गर्छन्

ती अभिमानी भालेहरू

 

हाम्रै डाकले ब्युँझन्छ यो जग

हाम्रै पखेटाका निम्ति न हो स्वतन्त्रता

हाम्रै निम्ति त हो यो ब्रहाण्ड

 

खबरदारी गरिरहन्छन् ती भालेहरू

हामीले लेखेको इतिहासलाई

बङ्गयाउने हिम्मत गर्ने

ती पोथीहरू को हुन्?

 

इतिहासलाई लत्याउने

ती पोथीहरूको यत्रो हिम्मत

 

मानौँ कि सारा हिम्मतका खम्बाहरूलाई

ती भालेहरूले आफ्नै शिरमा

बोकेर हिँडिरहेछन्

 

भनिदिनू कसैले ती भालेहरूलाई

केही समय ओथारो बस्तैमा

पोथीहरूले आफ्नो सारा अस्तित्वलाई

दागबत्ती कहाँ दिएका हुन्छन् र

 

नभुल्नू ए भालेहरू हो!

एउटा पोथीले नै हो जोगाउने

बाजका ती नङ्ग्राहरूबाट

ती चिचिला चल्लाहरूलाई

 

भालेहरूको साम्राज्यमा

जब जब पोथीहरूले

एउटा विद्रोहको शङ्ख फुक्नेछन्

 

हो त्यस दिन पक्कै ढल्नेछन्

ती भालेहरूका अभिमानका सिउरहरू