मानिसहरू मलाई एक्लै उभिएको देख्छन्

हावाहुरी, घामपानी
पहिरो, बाढी
र मान्छेको विषादीयुक्त कालो स्वार्थजस्ता
अनेकौं प्रतिकूलताहरूको बीचमा
एक्लै उभिनु त साह्रै गाह्रो काम हो
एक्लो शक्ति
एक्लो आकांक्षा
र, एक्लो प्रयत्न
कहाँ उभिन सक्छ र बलियोसँग ?

मलाई थाहा छ
मसँग थुप्रै जराहरू छन्
जमिन मुनिबाट जराहरूले
कसरी अड्याएका छन् जमिनमाथिको मलाई !

मानिसहरू मलाई एक्लै उभिएको देख्छन्

तर म एक्लो कहाँ छु !
मेरो शक्ति र सामथ्र्य
मेरा जराहरू हुन् ।