अनुवाद: सुदीप पाख्रिन
कवि परिचयः गुलजारलाई वास्तवमै कुनै परिचयको आवश्यकता छैन । गुलजारको नाम नै काफी छ, हिन्दी सिनेमा, गीत–संगीत र साहित्यलाई प्रेम गर्नेहरुका निम्ति । यद्यपि, उनी जन्मँदै गुलजारको रुपमा जन्मिएका भने होइनन् । उनी जन्मिएका हुन्— हालको पाकिस्तानस्थित दिना भन्ने ठाउँमा । उनको परिवारले उनलाई दिएको नाम थियो, सम्पूर्ण सिंह कालरा ।
मुम्बई आएपछि गुलजार भएका उनले गुलजार भएपछि प्रशिद्धि, नाम र इज्जत सबै कमाए । फिल्मफेयर एवार्ड, राष्ट्रिय एवार्ड जस्ता थुप्रै महत्त्वपूर्ण एवार्डहरु थुप्रै पटक पाएका उनको पोल्टोमा गीत लेखनीको लागि विश्वप्रसिद्ध एवार्ड ग्य्रामी पनि छ ।
निकै धेरै प्रसिद्ध गीतहरु लेखेका उनले निकै धेरै राम्रा सिनेमा बनाए । कथा पनि उति नै धेरै लेखेका सिनेमामा पटकथा र सम्वाद पनि उति नै लेखे । यसरी जुन क्षेत्रमा हात हाले, त्यसैमा ठूलो प्रसिद्धि कमाएका उनका कवितामा भने साना–साना कुराहरु माथिको उनको गहिरो साँच पढ्न पाइन्छ । सम्बन्धहरु, सम्बन्धहरुको तितोमिठोपन, प्रकृतिलाई अझ गहिरोसँग बुझ्न पनि उनको कविता पढ्न आवश्यक छ ।
बुढाहरूको टोली
बुढाहरूको टोली बेन्चमा बसेर….
हर दिन जब अखबार पढ्दछन्….
आजको उदाहरण दिएर
सबै पछिल्ला दिनहरुका कुरा गर्दछन्
“तिमीलाई त थाहै होला, ‘राम पंजवानी’
यी लाठीचार्जका फोटोहरू हेर्यौ ?
तिमी ठान्दछौ कि अंग्रेजहरू फर्किए ?”
अगाडि पछाडि चार जीपहरू लगाएर
कुनै कार गुज्रियो साइरन बजाउँदै
‘गुप्ताजी’ले दाँत झर्नुलाई जोगायो र हाँस्यो
“किन ? कुनै अंग्रेज अझै बाँकी छ कि क्या हो ?”
“हैन फलानो मन्त्री
जोगिङ गर्न गइरहेको छ पार्कमा !”
‘छगन’ जब आयो, भन्योः
“अरे यार कैले सोचेका थियौँ कि पानी पनि बिक्नेछ बोतलमा ?
जहाँकहीँ पनि रोकिएर पिउने गर्थ्यौं धाराहरूबाट
सधैँ गर्मीमा चिसो कपडाले बेह्रेर राखिएको माटाका गाग्राहरू भेटिन्थे बगैँचामा !”
थाहा छैन कुन चाहिँ समयको कुरा गर्छन् यी बुढाहरु !
‘मिया मन्नान’ जब आउँछ
केही बेरसम्म उर्दू बोलेर मन हल्का गर्दछ
कि बलगमजसरी
अब फोक्सोमा जमेर रहेको छ
गणेशी ‘गायत्री’ पढ्दै आउँछ
मन्दिरबाट,
किनेर ल्याएको छ ‘पुरिया’
उठाएर औँलाले ऊ ‘तिलक’ दिन्छ, भन्छ
“मलाई त यो खरानी पनि आजकल नक्कली लाग्दछ !”
दुब्लो गोरेटो
यति छोटो दुब्लो पातलोजस्तो गोरेटो
सधैँ पहाडको टुप्पोसम्म उक्लन्छ !
र यति चौडा अलकत्राको पक्की सडक छ
कति ठाउँ घुम्दछ तर
माथिसम्म जानै सक्दैन !!
(अनुवादक सुदीप पाख्रिन २०२८ साल असोज १९ मा कुमारी मोक्तान र कृष्ण पाख्रिनको कोखबाट धरानमा जन्मिनुभएका हो । उहाँ कलरव, धरान तथा कृष्ण पाख्रिन प्रतिष्ठान, धरानका संस्थापक सदस्य हुनुहुन्छ । उहाँका दुई कविता संग्रह ‘आदिम मौनता’ र ‘दगुरिहिँड्ने चौबाटो’ प्रकाशित छन् । उहाँ कृष्णभूषण बल युवा सिर्जना पुरस्कार २०७५ द्वारा सम्मानित हुनुहुन्छ ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

