बेइमान सपनाहरू
घरिघरि जिस्क्याउन आउॅंछन्
मेरा वर्तमान फूलबारीमा
र रैफाँडो मच्चाउॅंछन् !

बेइमान सपनाहरू
बेचैनीका पोका ल्याएर
मेरो आँगनमा छरपस्ट फाल्छन्
र उधुम मच्चाउन थाल्छन् !

बेइमान सपनाहरू
विगतको भूत लिएर आउॅंछन्
मृत आकांक्षाको खैंजेडी बजाउॅंछन्
र झाँक्री नाच्न थाल्छन् !

 

बेइमान सपनाहरू
निर्लज्जताको निर्वस्त्र पहिरनमा
आमन्त्रणको शहनाई बजाउॅंछन्
र निद्रा भङ्ग गर्न थाल्छन् !

आजकाल म
बेइमान सपनाहरूको
चक्रब्यूहमा परेको छु !